विगत बिर्सेर सकारात्मक सोचका साथ अघि बढ्न नेता आङदेम्बेको आग्रह
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विगतका घटनाबाट अब सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
जिल्ला समन्वय समितिको आवश्यकता र स्थायित्वबारे आगामी कार्यदिशामा केन्द्रित छलफल गर्न आयोजित एकदिने कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सत्तामा रहेका शक्तिप्रति सकारात्मक सोच राख्नुपर्ने बताए।
उनले भने, ‘हिजो नदेखिएको शक्ति आज सत्तामा हुनुहुन्छ, त्यो आजको चाहना हुन सक्छ। त्यसकारण हिजोका मितिका कुराहरू दोहोर्याउँदै बस्ने हो भने नयाँ सोचमा थप्न खोजिएको सकारात्मकता पनि टुंगोमा पुग्न सक्दैन। हिजो जे भयो, त्यहाँबाट निस्केर अगाडि बढ्नुपर्छ।’
उनले राजनीतिक दलभित्र देखिएका नयाँ अनुहार र सोचलाई समान रूपमा मूल्यांकन गर्नुपर्ने धारणा राखे। सबैलाई एउटै नजरले हेरेर आक्रोश पोख्नु उपयुक्त नभएको उल्लेख गर्दै उनले भने, ‘पार्टी हिजोकै भएपनि इतिहास बदलिन्छ। नयाँ अनुहार र सोचले समयअनुकूल प्रतिस्पर्धामा आफूलाई प्रस्तुत गर्छन् भन्ने विश्वास गर्नुपर्छ।’
नेता आङदेम्बेले आशा नै जीवनको प्रमुख आधार भएको उल्लेख गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरेका छन्।
उनले भने, ‘नयाँ अनुहार र सोचहरुले नयाँ ढंगबाट जाने आफ्ना प्रतिवद्धताहरु समयअनुकुल प्रतिस्पर्धामा आफूलाई होमाउँछन् पनि जान्छन् पनि यो विश्वास पनि गर्नुपर्छ। आशा भनेको सबैभन्दा ठूलो जीवन जीउने आधार हो।’
यसैगरी नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले आफ्नो पार्टी जिल्ला समन्वय समिति चाहिन्छ भन्ने मान्यता राख्ने बताएका छन्।
उनले समन्यायिक विकास र स्रोतको कार्यान्वयनको विषयको प्रभावकारी अनुगमन गर्ने निकायका रूपमा जिल्ला समन्वय समिति चाहिने बताए। उनले आफूले यसो भन्दा ‘सत्तामा हुँदा केही नगरेको’ भन्ने आरोप आएको पनि बताए।
उनले भने, ‘जिल्ला समन्वय समिति चाहिन्छ कि चाहिँदैन भन्ने कुरामा दलका हिसाबले नेकपा एमाले यो चाहिन्छ र प्रभावकारी हुनुपर्दछ भन्ने ठान्छ, ‘स्थानीय सरकार सञ्चालन ऐन आकाशबाट त्यत्तिकै असिना बर्सेजस्तो झरेको हो ? संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध र समन्वय ऐन त्यत्तिकै त आएन होला नि ?,’ उनले प्रश्न गर्दै भने, ‘पर्याप्त भएन भन्नुस् न। सत्तामा रहुञ्जेल सुतिरहनुभयो, अहिले आएर दुःख बिसाउनुभयो भन्ने किसिमको बहसले निष्कर्ष निस्किदैन।’







डिसी नेपाल







Facebook Comment