लोकगायक डिल्ली पौडेलको नयाँ मौलिक लोकदोहोरी ‘हेरीनौ फर्केर’ सार्वजनिक
बागलुङ। मौलिक लोकभाका र ग्रामीण परिवेशलाई आफ्नो स्वर र संगीतमा उतार्दै आएका लोकगायक डिल्ली पौडेलको नयाँ लोकगीत ‘हेरीनौ फर्केर’ बजारमा आएको छ। डिल्ली पौडेल र सुनिल केसीको प्रस्तुति रहेको यस गीतलाई ‘डिजिटल स्टार’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतको शब्द तथा लय स्वयं पौडेलले तयार पारेका हुन् भने स्वरमा उनलाई गायिका रीना केसी र गायक सुनिल केसीले साथ दिएका छन्। नेपाली संस्कृति र मौलिकतालाई प्रधानता दिइएको यस गीतले लोकसंगीत प्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङका जिल्ला सदस्य समेत रहेका पौडेल लामो समयदेखि नेपाली लोकसंगीतको संरक्षणमा सक्रिय छन्। यसअघि उनका ‘पिपलुको पात’, ‘छ छैन मायाले बाटो चिनेको’, ‘बोडी र तरुल’, र ‘केतुकी’ जस्ता गीतहरूले निकै चर्चा कमाइसकेका छन्।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरास्थित शान्तिदीप बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखका रूपमा कार्यरत पौडेल शिक्षण पेसा र लोकसंगीतलाई सँगसँगै अगाडि बढाइरहेका छन्। कला र प्राज्ञिक क्षेत्र दुवैमा सक्रिय उनको यो नयाँ सिर्जनाले ग्रामीण जीवन र लोकसंस्कृतिको मर्मलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment