सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
२० वैशाख २०८३ २०:३७

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

हाल मधेस प्रदेशलगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली र तराईका भू-भागमा आंशिक बदली रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यसैगरी, मंगलबार देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *