जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

डिसी नेपाल
२१ वैशाख २०८३ १५:२८

त्रिवेणी (रुकुम पश्चिम)। गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटना परी मृत्यु भएका रुकुम पूर्वका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार गरिएको छ। आज धाउने बगरस्थित सानीभेरी नदी किनारामा सामूहिक दाहसंस्कार गरिएको हो।

दुर्घटनामा परी मृत्यु हुने सिस्ने गाउँपालिका–६ टाकुराकी २८ वर्षीया युवा बुढाथोकी, उहाँका छोरा १० वर्षीय दिव्यान बुढाथोकी, ५३ वर्षीया सासुआमा तिलकुमारी बुढाथोकी, ३२ वर्षीय देवर गोर्खबहादुर बुढाथोकी, ४० वर्षीया कान्छी सासुआमा ओमकुमारी बुढाथोकी, ओमकुमारीका १३ वर्षीय छोरा सुदीप बुढाथोकीको दाहसंस्कार गरिएको हो।

युवाका श्रीमान् दीपक बुढाथोकी अमेरिकाबाट घर पुगेछि आज अन्त्येष्टि गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए।

पूर्णिमाका दिन रोल्पाको जलजलामा लाग्ने पूजामा सहभागी हुन रुकुम पूर्वको रुकुमकोटबाट बुढाथोकी परिवारका सदस्य पूजाआजा गर्न त्यसतर्फ गएका थिए, तर जलजला नपुग्दै गाडी दुर्घटना परेको हो।

दुर्घटनामा परी २० जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए। मृत्यकमध्ये १४ जनाको गत शनिबार नै दाहसंस्कार गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *