तेह्रौँ रारा प्रतियोगिताको उपाधि युनाइटेड झापालाई

डिसी नेपाल
२२ वैशाख २०८३ २०:१७

धनकुटा । वैशाख १८ देखि धनकुटाको राजारानीमा जारी ‘१३औँ रारा रनिङ फुटबल प्रतियोगिता’ को उपाधि गत वर्षको विजेता बिर्तामोड युनाइटेड फुटबल क्लबले जितेको छ।

‘पेनाल्टी सुटआउट’मा आयोजकलाई ५–४ गोलको अन्तरले हराउँदै यूनाइटेड झापा विजयी भएको हो। जितसँगै युनाइटेडले रनिङ कपसहित नगद सात लाख पाएको छ भने उपविजेता आयोजक राराले तीन लाखमा चित्त बुझाएको छ।

खेलको दोस्रो हाफमा आयोजक राजारानी(रारा)ले पेनाल्टीबाट एक गोल गरेपछि त्यसको केही समयमा नै युनाइटेडका तर्फबाट ‘फ्री किक’बाट एक गोल भएपछि खेल बराबरीमा टुङ्गिएको थियो। त्यसपछि निर्धारित समयमा दुवै तर्फबाट कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टी सुटआउटमा युनाइटेडका तर्फबाट ३२ नम्बरका खेलाडी दीपेश उराउ, ५ नम्बरका खेलाडी सञ्जय लामा, १४ नम्बरका खेलाडी मौसम सुब्बा, ६६ नम्बरका खेलाडी विवेक पौडेल र २० नम्बरका खेलाडी प्रशान्त लक्षमले गोल गर्न सफल भए।

आयोजक राजारानी फुटबल क्लबका लागि १६ नम्बर जर्सीका किरण चेम्जोङ, जर्सी नम्बर १३ का विशाल भण्डारी, जर्सी नम्बर १२ का मणि लामा र जर्सी नम्बर २ का शिशिर लेखीले गोल गरे। सोही टिमका ११ नम्बर खेलाडी दीपेश गुरुङले हानेको गोल युनाइटेडका गोलकिपर गोलरक्षकले रोकेपछि युनाइटेड विजय भएको हो।

विजेता तथा खेलाडीहरूलाई रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङ र चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पुरस्कार वितरण गरे। प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ बिर्तामोड युनाइटेडका प्रशान्त लक्षम भए। उदियमान खेलाडीको उपाधि रारा फुटबल क्लबका लोकेन्द्र लिम्बू र उत्कृष्ट गोलकिपर बिर्तामोड युनाइटेडका कप्तान अभिषेक बराल भए।

सर्वाधिक गोलकर्ताको पुरस्कार बिर्तामोड युनाइटेडका राजेश दाहालले पाए। उनले प्रतियोगिता अवधिभरमा चार गोल गरेका थिए। उत्कृष्ट खेलाडीको उपाधि रारा फुटबल क्लबका कप्तान किरण चेम्जोङले पाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *