गोरखा अस्पतालमा सेवा लिनेको सङ्ख्या बढ्दै
गोरखा। प्रदेश अस्पतालमा स्तरोन्नति भएपछि गोरखा अस्पतालमा सेवा दिनेको सङ्ख्या बढ्दै गएको छ। यहाँ विशेष गरी शल्यक्रिया गर्ने बिरामीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा एक हजारभन्दा धेरै जनाले शल्यक्रिया सेवा लिएका अस्पताल प्रशासनले जनाएको छ।
वैशाख पहिलो हप्तासम्ममा एक हजार १९० जनाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी चन्द्र खत्रीले जानकारी दिनुभयो। तीमध्ये पाँच ९६ जनाको ‘मेजर’ शल्यक्रिया, दुई सय ३४ जनाको मध्यम र तीन सय ६० जनाको ‘माइनर’ शल्यक्रिया गरिएको उनले बताए।
चालु आर्थिक वर्षको हालसम्ममा अस्पतालले सबैभन्दा धेरै छ सय ३२ जनाको जनरल सर्जरी गरेको छ। यस्तै, तीन सय २२ जनाको स्त्री रोग तथा प्रसूतिसम्बन्धी शल्यक्रिया र २३६ जनाको अर्थोपेडिक्स तथा ट्रमासम्बन्धी शल्यक्रिया भएको छ।
प्रदेश अस्पताल गोरखाले जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार २९६ जनालाई शल्यक्रिया सेवा प्रदान गरेको थियो। गत आवमा पाँच सय सात जनाको मेजर शल्यक्रिया भएको अस्पतालका सूचना अधिकारी खत्रीले बताए।
चालु आवमा हालसम्म १० हजार ५६ जनाले युएसजी सेवा, छ हजार १८२ जनाले इसिजी, दुई हजार ६४३ जनाले फिजियोथेरापी तथा छ हजार ४७३ जनाले आयुर्वेद सेवा लिएका छन्।
यसैगरी, १६ जना लैङ्गिक हिंसापीडित तथा प्रभावित व्यक्तिहरूले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट निःशुल्क सेवा लिएको अस्पतालको विवरणमा उल्लेख छ।
अस्पतालको सामाजिक सेवा इकाइअन्तर्गत गरिब, असहाय, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसापीडित जस्ता समस्यामा परेका पाँच सय आठ जनाले निःशुल्क तथा सहुलियत सेवा लिएको अस्पतालको विवरणमा उल्लेख छ।
पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा अस्पतालको न्यूनतम सेवा मापदण्ड ९० प्रतिशत कायम भएको र जुन गण्डकी प्रदेशकै उत्कृष्ट रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले बताए। उनका अनुसार गोरखा अस्पतालले गोरखा नगरपालिकासँगको साझेदारीमा ‘आधारभूत स्वास्थ्य सेवा’ समेत सञ्चालनमा ल्याएको छ।
उक्त सेवाअन्तर्गत गोरखा नगरवासीले अस्पतालका सेवामा विशेष छुट पाउने व्यवस्था रहेको समितिका अध्यक्ष ढकालले जानकारी दिए। प्रदेश अस्पतालले हालसालै इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याएको, फिजियोथेरापी सेवा विस्तारका साथै प्रयोगशाला सेवा र आयुर्वेद सेवा सुदृढीकरण गरिएको उनले बताए।
अस्पतालमा भीड व्यवस्थापनका लागि बिहान ८ः०० बजेदेखि नै ओपिडी सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष ढकालले जानकारी दिए। अन्य आकस्मिक सेवाहरू भने चौबिसै घण्टा सञ्चालन भइरहेका छन्। रासस







डिसी नेपाल







Facebook Comment