मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

डिसी नेपाल
२३ वैशाख २०८३ ६:४८

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ। यसका कारण देशका अधिकांश भूभागमा बदली हुनुका साथै केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ। बाँकी तराईका भूभागमा भने आंशिक बादल लागेको छ। अहिले कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको छ।

राति कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका केही स्थान, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका हिमाली भूभागमा पनि हल्का वर्षा र हिमपातको संकेत देखिएको छ।

मेघगर्जन, चट्याङ र वर्षाका कारण हुन सक्ने जोखिमबाट बच्न र आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *