तरकारीमा अत्यधिक बिषादी भेटिएपछि कडाई
सुर्खेत। वीरेन्द्रनगरमा अत्यधिक बिषादी प्रयोग गरिएका तरकारीहरू भित्रिएपछि नगरपालिकाले तरकारी परिक्षणमा कडाई गरेको छ।
दिनहुँ नगरपालिकामा बिषादी प्रयोग गरिएका तरकारी सहजै कर्णालीबासीको भान्सामा पुग्ने गरेका छन्। वीरेन्द्रनगरबाट कर्णालीका अन्य जिल्लामा पनि तरकारी निर्यात हुने भएकाले यसले नागरिकहरुको स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने भन्दै वीरेन्द्रनगर नगरपालिकाले परिक्षणलाई तीब्रता दिएको छ।
वीरेन्द्रनगरमा भित्रिएका तरकारीहरुमा अत्यधिक बिषादी प्रयोग भएको पाइएको छ। दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेत भित्रिएको काउलीमा ९५ प्रतिशतसम्म अर्गानोफस्फेट विषादी भेटिएपछि यसले सरोकारवालालई चिन्तित बनाएको छ।
यो मात्राको बिषादी छुँदा पनि स्वास्थ्यमा असर पर्न सक्ने कृषि प्रयोगशालाका नायव प्राविधिक सहायक धनसिंह धामीले बताए। ‘काउलीमा ९५ प्रतिशतसम्म विषादी देखिनु भनेको सिंधै विष सेवन गर्नु सरह हो,’ उनले भने।
बर्दियाबाट ल्याइएको टमाटरमा ५४ प्रतिशत र सुर्खेत जिल्लाबाटै कृषि बजारमा भित्रिएको काउलीमा ४६ प्रतिशत विषादी फेला परेको छ। ४५ प्रतिशतभन्दा बढी विषादी देखिएका तरकारीलाई खानै नमिल्ने सूचीमा राखेर नष्ट गर्नुपर्ने कृषि विज्ञहरुको भनाई छ। विषादी छरेको केही दिनमै बजार पुग्ने यस्ता तरकारीले मानव स्वास्थ्यमा मन्द विषको काम गरिरहेको छ।
विशेष गरी अर्गानोफस्फेट विषादीले मानिसको स्नायु प्रणाली, प्रजनन क्षमता र मृर्गौलामा गम्भीर असर पुर्याउँछ। दीर्घकालीन रूपमा यसले क्यान्सर जस्तो असाध्य रोग निम्त्याउने चेतावनी चिकित्सकहरूले दिँदै आएका छन्। वीरेन्द्रनगर नगरपालिकाले विषादी पुष्टि भएका तरकारी बरामद गरी नष्ट गर्दै आएको छ। एक हप्तामा ५० भन्दा बढी नमुना परीक्षण गर्दा अधिकांशमा बिषादीको मात्रा नाघेको धामीले बताए।







डिसी नेपाल







Facebook Comment