प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहले अपराह्न ५ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका छन्।
बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुनमन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेसँगै यो बैठक बस्न लागेको हो। सरकारले अघिल्लो साता पठाएको अध्यादेशलाई राष्ट्रपतिले सुरुमा पुनर्विचारका लागि फिर्ता पठाएको भए तापनि सरकारले कुनै संशोधन नगरी पुनः पठाएपछि सोमबार राष्ट्रपतिले यसलाई प्रमाणीकरण गरेका थिए।
नयाँ अध्यादेश जारी भएसँगै छ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार जना मात्र भए पुग्ने व्यवस्था गरिएको छ। यस नयाँ प्रावधानले गर्दा परिषद्का तीन जना सदस्यको बहुमतका आधारमा पनि प्रधानमन्त्रीले निर्णय गराउन सक्ने कानुनी बाटो खुलेको छ।
आजको बैठक मुख्य गरी रिक्त हुन लागेको वा रिक्त रहेको प्रधानन्यायाधीश पदमा उपयुक्त पात्रको नाम सिफारिस गर्ने विषयमा केन्द्रित रहने बुझिएको छ।







डिसी नेपाल







Facebook Comment