साउदीले हवाई क्षेत्र दिन अस्वीकार गरेपछि ट्रम्पको सैन्य योजनामा धक्का, ‘प्रोजेक्ट फ्रिडम’ तत्कालका लागि बन्द
वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले अघि सारिएको महत्त्वाकांक्षी नौसैनिक योजना ‘प्रोजेक्ट फ्रिडम’ अचानक स्थगित गरेका छन्।
खाडी क्षेत्रको प्रमुख साझेदार मुलुक साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न र प्रिन्स सुल्तान एयरबेस सञ्चालनमा ल्याउन अनुमति दिन अस्वीकार गरेपछि यो सैन्य योजना तत्कालका लागि रोकिएको हो।
ट्रम्प प्रशासनले क्षेत्रीय सहयोगी राष्ट्रहरूसँग पूर्वतयारी र पर्याप्त समन्वय नगरी यो योजना सार्वजनिक गरेका कारण साउदी अरेबियालगायतका खाडी मुलुकहरूमा असहजता पैदा भएको विश्लेषण गरिएको छ।
साउदी युवराज मोहम्मद बिन सलमानसँगको प्रत्यक्ष संवादका क्रममा पनि रियादले सैन्य तनावभन्दा कूटनीतिक समाधानलाई प्राथमिकता दिने स्पष्ट पारेपछि वासिङ्टन आफ्नो कदमबाट पछि हट्न बाध्य भएको हो।
साउदी अरेबियाले हाल अमेरिका र इरानबीच समझदारी कायम गराउन पाकिस्तानले गरिरहेको मध्यस्थतापूर्ण कूटनीतिक पहललाई समर्थन गर्दै प्रत्यक्ष सैन्य संलग्नताबाट दूरी कायम राख्न खोजेको देखिएको छ।
ह्वाइट हाउसले क्षेत्रीय सहयोगीहरूलाई पूर्वजानकारी गराइएको दाबी गरे पनि कूटनीतिज्ञहरूले भने अमेरिकाले पहिले घोषणा गर्ने र त्यसपछि मात्र समन्वय खोज्ने शैली अपनाउँदा साझेदारहरूलाई अप्ठ्यारो परेको बताएका छन्।
ट्रम्पले यो सैन्य अभियान अस्थायी रूपमा रोकिएको घोषणा गरेको भोलिपल्टै इरानले हर्मुज जलघाँटी क्षेत्रमा सञ्चालित जहाजहरूलाई सुरक्षा, प्राविधिक सहयोग, स्वास्थ्य सेवा र इन्धन आपूर्ति लगायतका सम्पूर्ण सहायता दिन आफू तयार रहेको उल्लेख गर्दै आफ्नो सक्रियता बढाएको छ।
इरानको बन्दरगाह तथा समुद्री सङ्गठनले यस रणनीतिक मार्गमा सुरक्षित समुद्री यातायात कायम राख्नु आफ्नो राष्ट्रिय जिम्मेवारी भएको भन्दै व्यावसायिक जहाजहरूलाई आवश्यक परे मर्मत सामग्री र आपत्कालीन सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।
इरानले आफ्नो क्षेत्रीय पानीमा रहेका जहाजहरूलाई सञ्चार प्रणालीमार्फत सम्पर्क गर्न आग्रह गर्दै सुरक्षा र दिगो यातायातको प्रत्याभूति दिने प्रयास गरेको छ।
राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत प्रोजेक्ट फ्रिडम रोकिनुको पछाडि पाकिस्तानको आग्रह र इरानसँग भइरहेको सम्भावित समझदारीको प्रगतिलाई मुख्य कारण बताएका छन्।
उनले अमेरिका र इरानबीचको अन्तिम सहमति सम्भव छ कि छैन भन्ने परीक्षण गर्न र तत्कालका लागि तनाव कम गर्न यो निर्णय लिइएको दाबी गरेका छन्। विश्वको ठूलो मात्रामा तेल आपूर्ति हुने हर्मुज जलघाँटीमा पछिल्लो समय बढेको तनावका बीच साउदी अरेबियाको असहमति र पाकिस्तान तथा ओमानको कूटनीतिक सक्रियताले क्षेत्रीय राजनीतिमा नयाँ मोड ल्याएको छ।
अमेरिकाले आफू सैन्य लाभको अवस्थामा रहेको दाबी गरे पनि क्षेत्रीय साझेदारहरूको बदलिँदो प्राथमिकताले वासिङ्टनको सैन्य रणनीतिमा नयाँ चुनौती थपेको विश्लेषकहरूको ठम्याइ छ। अहिलेको परिस्थितिमा प्रत्यक्ष सैन्य द्वन्द्वभन्दा वार्ता र कूटनीतिक च्यानलहरू बढी प्रभावकारी बन्दै गएको संकेत यस घटनाक्रमले दिएको छ।







डिसी नेपाल







Facebook Comment