बीपी राजमार्ग निरन्तर जोखिममा, रोशी खोलामा पानी बढेपछि सवारी ‘होल्ड’
रामेछाप। आज (विहीबार) बिहानदेखि सञ्चालनमा आएको बीपी राजमार्ग दिउँसो पुनः बन्द गरिएको छ। विहीबार रोशी खोलामा पानीको बहाव बढ्ने सम्भावना देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको जनाएको हो।
प्रहरीले दिउँसो १ः१५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखी राजमार्गमा सवारी सञ्चालन रोकिएको जानकारी दिएको छ।
यसअघि वर्षाका कारण रोशी खोलाले सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ। तीनदिनदेिख बन्द भएको राजमार्गमा बिहीबार बिहान ७ बजेदेखि डाइभर्सन निर्माण पछि यातायात सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीको सतह बढ्न थालेपछि सुरक्षाका कारण राजमार्ग बन्द गरिएको हो।
रोशी खोलामा सामान्य बाढी आउँदा समेत डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ। अस्थायी रूपमा बनाइएको सडक खोलाको बहावमै रहेकाले सानो बाढी आउने बित्तिकै सडक बन्द हुने गर्दछ।
प्रहरीले मौसमको अवस्था र खोलामा आउन सक्ने बाढीलाई मध्यनजर गर्दै सावधानी अपनाइएको जनाएको छ। स्थिति सामान्य भएपछि अर्को सूचना जारी गरेर पुनः यातायात सञ्चालनको जानकारी गराइने जिल्ला प्रहरी कार्यालय काभ्रेले उल्लेख गरेको छ।
बीपी राजमार्ग पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने प्रमुख सडक सञ्जालमध्ये एक हो। दैनिक सयौँ सार्वजनिक तथा निजी सवारी सञ्चालन हुने यस सडकमा बाढी, पहिरो र कटानका कारण समस्या उत्पन्न हुँदै आएको छ।
विशेषगरी काभ्रेको रोशी क्षेत्र राजमार्गकै सबैभन्दा जोखिमयुक्त खण्डमध्ये एक मानिन्छ । गत साल बगाएको सो सडक मर्मतको काम नसकिँदा समस्या भएको हो। राजमार्ग पटक–पटक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने अवस्था सिर्जना भएको छ। लामो दूरीका सार्वजनिक यातायात, मालवाहक सवारी तथा निजी गाडीहरू काभ्रेको भकुण्डे र सिन्धुलीको नेपालथोकामा रोकिएका छन्।
प्रहरीले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको अवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्न आग्रह गरेको छ। थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।







डिसी नेपाल







Facebook Comment