हेटौँडामा अवैध सालको काठसहित गाडी नियन्त्रणमा
हेटौँडा। मकवानपुर प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठसहित एक गाडी नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बिहान करिब १ः४० बजे प्राप्त विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखरा, हेटौँडाबाट खटिएको टोलीले चौघडाबाट हेटौँडा तर्फ आउँदै गरेको बा.२० च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौँडा उपमहानगरपालिका–५, क्याम्पाडाँडामा रोकी जाँच गर्न खोजेको थियो।
प्रहरीलाई देखेपछि गाडी चालक फरार हुने प्रयास गर्दै भागेपछि टोलीले पछ्याउँदै हेटौँडा उपमहानगरपालिका–२, सानोपोखरा चोकस्थित भित्री सडकबाट गाडी नियन्त्रणमा लिएको हो।
गाडीको तलासीका क्रममा त्रिपालले छोपेर लुकाइ राखिएको अवस्थामा ४१ थान सालको काठ (७२.५९ क्युफिट) बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद काठसहित गाडीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, हेटौँडा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले जानकारी दिएका छन्।







डिसी नेपाल







Facebook Comment