बाबियाचौरमा बस्ति संरक्षण योजना कार्यान्वयनमा
म्याग्दी। म्याग्दी नदीको बाढी र कटान नियन्त्रणका लागि मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बस्ति संरक्षण योजना कार्यान्वयनमा आएको छ।
मंगला गाउँपालिकाले संघीय सरकारको बिशेष अनुदानमा चालु आर्थिक वर्षदेखि बाबियाचौर–काशेबगर बस्ती संरक्षण योजना सञ्चालन गरेको हो। गत फागुन २६ गते रु. ४२ लाख ३६ हजार आठ सय ९९ मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बाढी र कटान रोकथामका लागि नदी किनारमा पक्की संरचना बनाउने कार्यलाई तीब्रता दिएको छ।
मंगला गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख रुचेन्द्र अधिकारीले आगामी असार १० गतेसम्म ठेक्काको म्याद रहेको योजनाको हालसम्म ५० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको जानकारी दिए।
बाबियाचौर बजारतर्फ म्याग्दी नदी किनारको ६८ मिटर दुरीमा ‘कम्पोजित’ प्रबिधीको पर्खाल भैरहेको छ। नदीको सतह भन्दा भित्रबाट तीन मिटर अग्लो पक्की ढलान र त्यसमाथी थप तीन मिटर अग्लो ग्यावियन पर्खाल निर्माण हुनेछ।
तीन सय छ घनमिटर पक्की र चार सय आठ घनमिटर ग्यावीयन पर्खाल निर्माण गर्न लागिएको हो। यसैगरी काशेबगर तर्फ छ सय १२ घनमिटर ‘बोल्डर’ (ठूला ढुङ्गा थुपार्ने) काम हुनेछ्। दुई सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बाबियाचौर मंगला गाउँपालिकाको केन्द्र हो।
पछिल्लो समय बाबियाचौरमा बस्ति विस्तारले तिब्रता पाएको छ। उत्तरपुर्वबाट बगेर आउने म्याग्दी नदीको कटान र बाढीका कारण जोखिममा परेको बाबियाचौर लगायतका तटीय क्षेत्रका बस्ति संरक्षण योजनालाई निरन्तरता दिनका लागि संघीय सरकारसँग आगामी बर्षमा पनि योजना र बजेट माग गरिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। रासस







डिसी नेपाल







Facebook Comment