न्यायिक सुशासन र विधिको शासनमा जोड दिँदै आज देशभर कानुन दिवस मनाइँदै
काठमाडौं। नेपालमा प्रधान न्यायालय स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रमका साथ कानुन दिवस मनाइँदैछ।
नेपालमा विसं २००८ मा प्रधान न्यायालय ऐन बने पनि २००९ साल वैशाख २६ गतेदेखि उक्त ऐन लागू भएको थियो।
तत्कालीन राजा त्रिभुवनबाट लालमोहर लागेको सोही दिनलाई आधार मानी प्रत्येक वर्ष वैशाख २६ गतेलाई कानुन दिवसका रूपमा मनाउने परम्परा रहिआएको छ।
विशेषगरी न्यायपालिकाप्रतिको जनविश्वासलाई थप प्रगाढ बनाउन, न्यायमा सबैको सहज पहुँच सुनिश्चित गर्न र न्यायिक सुशासनको प्रवद्र्धनमा जोड दिनु यस दिवसको मुख्य उद्देश्य रहेको छ।
विसं २००७ मा प्रजातन्त्रको उदय भएपश्चात् न्यायपालिकालाई कार्यपालिकाबाट छुट्ट्याई स्वतन्त्र, निष्पक्ष र तटस्थ बनाउने दिशामा यसै दिनलाई कोसेढुङ्गा मानिन्छ। विधिको शासन र आधुनिक न्याय प्रणालीको सुरुआत भएको यस दिनलाई प्रजातन्त्र र मानव अधिकारको बलियो जग बसेको अवसरका रूपमा समेत लिने गरिन्छ।
कानुन र न्यायको क्षेत्रमा चासो राख्ने सबैका लागि यो विशेष दिनले अन्यायमा परेका सर्वसाधारणको न्यायिक पहुँच सुनिश्चित गर्ने र न्यायालयप्रतिको सम्मान अभिवृद्धि गर्ने विश्वास गरिएको छ। नेपालको कानुनी इतिहासमा यो दिनले स्वतन्त्र न्यायपालिकाको मर्म र मूल्यलाई आत्मसात गर्न सधैँ प्रेरित गर्दै आएको छ।







डिसी नेपाल







Facebook Comment