‘सक्षम सांसद’ बनाउन रास्वपाको कसरत: स्टाफ कलेजमा दुई दिने विशेष प्रशिक्षण

डिसी नेपाल
२६ वैशाख २०८३ ८:२०

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागले पार्टीका प्रतिनिधिसभा सदस्यहरूको संसदीय कौशल र नेतृत्व विकासका लागि दुई दिने विशेष प्रशिक्षण शृङ्खला आजदेखि सुरु गर्दैछ।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन हुने ‘सक्षम सांसद, सशक्त संसद्’ नामक यस कार्यक्रमको औपचारिक उद्घाटन पार्टी उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहान ११ बजे गर्ने तय भएको छ। संसद्लाई जनमुखी र प्रभावकारी बनाउनुका साथै सांसदहरूको कानुनी एवं नीतिगत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रशिक्षणलाई पार्टीले महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा लिएको छ।

प्रशिक्षणको पहिलो दिन सदन, सरकार र पार्टीबीचको अन्तरसम्बन्ध तथा संसदीय प्रक्रियामा केन्द्रित रहनेछ। यस अन्तर्गत महामन्त्री भूपदेव शाहले पार्टी र सरकारबीचको समन्वयकारी भूमिकाबारे प्रशिक्षण दिनेछन् भने संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय समितिहरूमा सांसदहरूको सक्रियताका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

साथै, सांसद निशा डाँगीले संसदीय अभ्यास र दलीय समन्वयमा सचेतकको भूमिका र अनुभवबारे जानकारी गराउनेछिन्, जसले सांसदहरूलाई सदनभित्रको कार्यसम्पादनमा थप निखार ल्याउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

दोस्रो दिनको सत्रमा राजनीतिक आचरण, कूटनीति र आगामी निर्वाचनको रणनीतिक तयारीबारे छलफल हुनेछ। सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान र उच्च नैतिक व्यवहारबारे प्रशिक्षण दिने कार्यक्रम छ भने परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षबारे सांसदहरूलाई अवगत गराउनेछन्।

त्यस्तै, सह-महामन्त्री विपिनकुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा र पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। दुई दिने यस सघन प्रशिक्षणको समापन सत्रमा पार्टी सभापति रबि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्दै सुशासन र जनउत्तरदायी सांसदको भूमिकाबारे मार्गनिर्देशन गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *