सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन, बालेन शाहलाई जग्गाबारे स्पष्ट पार्न चुनौती

डिसी नेपाल
२६ वैशाख २०८३ १५:२०

काठमाडौं। श्रम संस्कृति पार्टी बागमती प्रदेश समन्वय समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। यो देश गरीबको पनि हो, सुकुम्बासी तथा अव्यवस्थित बसोबासप्रति राज्यले गरेको दमनविरुद्ध श्रम संस्कृति पार्टीले खबरदारी गरेको हो।

खबरदारीमा उनीहरुले यो देश गरिबको पनि हो, गाँस,वास, कपास हाम्रो अधिकार हो, भूमीहिन समस्या दीर्घकालिन रुपमा समाधन गर लगायतका प्लेकार्ड बोकेर खबरदारी गरेका हुन्।

उक्त खबरदारीमा श्रम संस्कृति पार्टीका नेता छोटे पठानले सरकारले सुकुम्बासीका घर भत्काइरहेको तर कालापानी, लिपुलेकमा अर्कोले बाटो बनाइरहेको आरोप लगाए। उनले कालापानी र लिपुलेक क्षेत्रमा भइरहेको गतिविधिप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै सीमा सुरक्षामा खटिएका नेपाल प्रहरीले विभिन्न समस्या भोग्नुपरेको बताए।

उनले भने, ‘सुकुम्बासीको घर भत्काइरहनु भएको छ। कालापानी, लिपुलेकमा अर्कोले बाटो बनाइरहेको छ। सरकारका लागि यो विषय कति लाजलाग्दो कुरा हो। नेपालको सीमा नाकामा गएर हेर्नुस्, सीमा सुरक्षामा रहेको हाम्रो नेपाल प्रहरीले कति समस्या खेप्नु परिरहेको छ। नेपालको जग्गा कब्जा भइरहेको छ। प्रधानमन्त्री आफ्नै देशका सुकुम्बासी मेटाइरहनु भएको छ। सुकुम्बासीलाई देशमै व्यवस्थापन गर्ने हो कि चीन, जर्मनी वा जापान पठाउने हो, सरकार आफैं अन्योलमा देखिएको छ।’

उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै आफ्नो परिवारको नाममा रहेको जग्गाबारे स्पष्ट पार्न पनि आग्रह गरे। उनले भने, ‘प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, म पनि तपाईंको जिल्लाकै छिमेकी हुँ। तपाईं आफैं भन्नुहोस्, नेपाली जनतालाई तपाईंको बाउको नाममा कति बिगाहा जमिन छ ? त्यसको लालपुर्जा छ कि छैन? सरकार तपाईंको, व्यवस्थापन तपाईंको, नेपालको जनता तपाईंको र नेपालको जमीन पनि तपाईंको जस्तो भएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *