सुनसरीमा सात फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
२६ वैशाख २०८३ २२:०७
धरान (सुनसरी)। सुनसरीमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका सात प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई सुनसरीको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
चोरी मुद्दामा फरार रहेका धरान उपमहानगरपालिका–१५ का तेजबहादुर श्रेष्ठलाई सुनसरी जिल्ला अदालतको २०८१ चैत ७ गतेको फैसलाअनुसार रु पाँच हजार जरिवाना १५० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको थियो।
त्यसैगरी, अभद्र व्यवहार मुद्दाका धरान उपमहानगरपालिका–१५ का मनोज विश्वकर्मालाई २०८१ वैशाख २७ गतेको फैसला अनुसार रु चार हजार जरिवाना, चोरी मुद्दाका बराहक्षेत्र नगरपालिका–६ का ज्ञानेन्द्र विष्टलाई २०८० असोज २४ गतेको फैसला अनुसार रु ६०० जरिवाना तथा बिगो मुद्दाका देवानगञ्ज गाउँपालिका–७ का सतीशचन्द्र यादवलाई २०८२ असार १३ गतेको फैसलाअनुसार ७३० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै, चेक अनादर मुद्दाका इटहरी उपमहानगरपालिका–१८ का सविन कुमार खतिवडालाई २०८० चैत ४ गतेको फैसलाअनुसार रु एक हजार जरिवाना, चोरी मुद्दाका धरान उपमहानगरपालिका–१ का दीपक रिषिदेवलाई रु तीन हजार जरिवाना तथा सार्वजनिक मुद्दामा बराहक्षेत्र नगरपालिका–२० भरत पौडेललाई अदालतले २०७६ भदौ २६ गतेको फैसलाअनुसार रु पाँच हजार जरिवाना भुक्तान गर्न बाँकी रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले जानकारी दिए।
पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *