आईपीएलमा गुजरात टाइटन्सको दबदबा: राजस्थान ७७ रनले पराजित
काठमाडाैं। इन्डियन प्रिमियर लिग (आईपीएल) को पछिल्लो खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि ७७ रनको फराकिलो र सानदार जित दर्ता गरेको छ।
गएराति भएको प्रतिस्पर्धामा गुजरातले प्रस्तुत गरेको २ सय ३० रनको विशाल लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्स १६ ओभर ३ बलमा मात्र १ सय ५२ रनमा अलआउट हुन पुग्यो।
राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रन र वैभव सूर्यवंशीले ३६ रन जोडे पनि अन्य ब्याटर चल्न नसक्दा टोलीले हार बेहोर्नुपर्यो। राजस्थानलाई सस्तैमा समेट्न गुजरातका स्पिनर राशिद खानले घातक बलिङ गर्दै ४ विकेट लिए भने जेसन होल्डरले ३ र कागिसो रबाडाले २ विकेट चट्काए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाएर २ सय २९ रनको बलियो योगफल तयार पारेको थियो। गुजरातको इनिङ्समा कप्तान शुभमन गिलले ८४ रनको उत्कृष्ट पारी खेले भने साई सुदर्शनले ५५ रनको अर्धशतकीय योगदान दिए।
त्यस्तै वासिङ्टन सुन्दरले ३७ रन जोड्दै टोलीलाई विशाल स्कोरसम्म पुर्याए। राजस्थानका तर्फबाट बलिङमा ब्रिजेश शर्माले २ तथा रविन्द्र जडेजा र यश पुञ्जाले १-१ विकेट लिएका थिए।
यो प्रभावशाली जितसँगै ११ खेलबाट १४ अंक जोडेको गुजरात तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पराजित राजस्थान १२ अंकका साथ पाँचौँ स्थानमा झरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment