मनोज र किरण फिचर्ड ‘ढ्याप्पा’ सार्वजनिक

डिसी नेपाल
२७ वैशाख २०८३ १०:४७

काठमाडौं। गायक तथा संगीतकर्मी बिबेक महर्जन बोबाको नयाँ म्युजिक भिडियो ‘ढ्याप्पा’ सार्वजनिक भएको छ। परम्परागत नेपाली खेल ‘लुकामारी’ बाट प्रेरित गीतले आधुनिक नेपाली पप-फ्युजन शैलीमार्फत कलाकारको सांगीतिक यात्रा र भावनात्मक अनुभूतिलाई प्रस्तुत गरेको छ।

लुकामारी खेलमा खोज्ने व्यक्तिले अरूलाई भेटेपछि बोलिने ‘ढ्याप्पा’ शब्दलाई नै गीतको शीर्षक बनाइएको गायक महर्जनले बताएका छन्। उनका अनुसार यो गीत सोही नामको एल्बम अन्तर्गत समावेश छ, जसले उनको सांगीतिक यात्राका विभिन्न चरणलाई प्रतिनिधित्व गर्छ।

गीतमा व्यक्तिगत अनुभूति, संघर्ष र दुःखलाई पन्छाउँदै खुशी र उत्साहतर्फ अघि बढ्ने भाव व्यक्त गरिएको छ। भिडियोमा परम्परागत नेपाली सांस्कृतिक परिवेशलाई आधुनिक भिजुअल शैलीसँग मिश्रण गरिएको देखिन्छ। गीतको लय, स्वर र भोकल अभिव्यक्तिले भावनात्मक उतारचढावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।

गीतको शब्द, संगीत तथा स्वर स्वयं बिबेक महर्जन बोबाको रहेको छ भने एरेन्ज, मिक्सिङ र मास्टरिङ फिरोज बज्राचार्यले गरेका छन्। भिडियोमा मनोज महर्जन र किरण शाही ठाकुरीको अभिनय देख्न सकिन्छ।

भिडियोको छायांकन अक्रिस्ट शाक्यले गरेका हुन् भने सहायक क्यामेरामा सुनिल काफ्ले रहेका छन्। भिडियोको सम्पादन तथा ग्राफिक्स बिजन राज बज्राचार्यले गरेका छन्। कोरियोग्राफी रोहिया महर्जनको रहेको भिडियोमा नरेश सुनाम सह-कोरियोग्राफरका रूपमा रहेका छन्।

आधुनिक पप-फ्युजन शैलीमा तयार पारिएको ‘ढ्याप्पा’ मा नेपाली मौलिकताको स्वाद पनि अनुभव गर्न सकिन्छ। भिडियोको निर्देशन विश्वास बज्राचार्यले गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *