लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

डिसी नेपाल
२८ वैशाख २०८३ ८:१८

लिस्बन (पोर्चुगल)। नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले ‘सञ्चारमाध्यम’ बलियो भए मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरेकी छन्। शनिबार नेपाल पत्रकार महासङ्घ युरोप शाखाले पोर्चुगलको राजधानी लिस्बनमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष शर्माले मिडिया बलियो नभए लोकतन्त्र बलियो नहुने धारणा व्यक्त गरिन्।

अध्यक्ष शर्माले प्रेस पूर्ण स्वतन्त्र हुनुपर्ने बताउँदै सरकारले मिडियामाथि अङ्कुश लगाउन नहुने धारणा व्यक्त गरे। उनले कृत्रिम बुद्धिमत्ताको प्रभावका कारण पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत ‘कन्टेन्ट’का नाममा भ्रम फैलाउने प्रवृत्तिले पत्रकारितामा असर पारेको धारणा राखे ।

सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सूचना तथा समाचारको सत्यतथ्य परीक्षण गरेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन् ।

पत्रकार र सञ्चारमाध्यम पनि उत्तरदायी र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियोे । अध्यक्ष शर्माले प्रवासी नेपाली समुदायका गतिविधि, समस्यालगायत विषयमा जानकारीमूलक तथा सूचनामूलक समाचार प्रवाह गर्न र पत्रकारितामार्फत समाजमा योगदान गर्न युरोपमा क्रियाशील नेपाली पत्रकारहरूलाई आग्रह समेत गरिन्।

कार्यक्रममा सहभागी पत्रकारहरूले युरोपमा नेपाली पत्रकारिताको अवस्था, चुनौती, अवसर तथा संस्थागत सहकार्यका विषयमा आफ्ना धारणा राखेका थिए । सहभागीहरुले प्रवासमा पत्रकारितालाई प्रभावकारी बनाउन केन्द्र र शाखाबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउन संस्थागत सहकार्यमा जोड दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *