‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
म्याग्दी। अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट क्षमताको ‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ।
सुपर घलेम्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको आयोजनाले नारच्याङको घलेम्दी र रेलेखोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा प्रस्तावित बाँधस्थल जोड्ने पहुँचमार्ग निर्माण थालेको हो ।
आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईले पाँच किलोमिटर ५०० मिटरमध्ये दुई किलोमिटर पहुँचमार्ग निर्माण सकिएको र कर्मचारी आवासका लागि भवन तयार भएको जानकारी दिए।
“विद्युत्गृह निर्माण स्थलमा सडक पु¥याएर जमिन तयार पार्न पहाड काट्न थालेका छौँ,” उनले भने, “पहुँचमार्ग खनेपछि बाँध, विद्युत्गृह र पेनस्टक पाइपलाइन जडान तथा प्रसारण लाइन निर्माणलाई समानान्तर गतिमा अघि बढाउने तयारीमा छौँ ।”
रु एक अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बाँधदेखि चार किलोमिटर २०० मिटर दूरीमा पाइपलाइनबाट ल्याइने पानीलाई ४२० मिटर उचाइबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने आवासीय इन्जिनियर भट्टराईले बताए।
आयोजना निर्माणमा उपभोग हुने जग्गा सबै सार्वजनिक हो । निर्माण स्थलमा पर्ने एक हजार ४०० मध्ये ५४६ रूख कटानको आदेश प्राप्त भइसकेको छ भने बाँकी प्रक्रियामा रहेको छ ।
ग्लोबल आइएमई र माछापुच्छ्रे बैंक लिमिटेडसँग वित्तीय स्रोत व्यवस्थापनका लागि प्रस्ताव गरिएको आयोजनाले जनाएको छ । कुल लागतको ७० प्रतिशत बैङ्क र ३० प्रतिशत स्वपुँजी रहनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर लगानीको अवसर दिइने भएको छ ।
नारच्याङ भएर बग्ने नदीहरुमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एक वटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।
वडाअध्यक्ष लोकबहादुुर पुनका अनुुसार पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् ।
नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युुत् आयोजना निर्माणाधीन छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १८४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना पनि निर्माणको तयारी भएको छ ।







डिसी नेपाल







Facebook Comment