देशभर बदली र वर्षाको सम्भावना: हिमाली तथा पहाडी भू-भागमा सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
२९ वैशाख २०८३ ६:४३

काठमाडौं।  नेपालको वर्तमान मौसमी अवस्थामा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ।

यस मौसमी प्रणालीका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली हुनुका साथै अन्य प्रदेशहरूमा पनि आंशिक बदलीको अवस्था रहेको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो कोशी प्रदेश लगायत अन्य प्रदेशका हिमाली र पहाडी भूभागमा मौसम साधारणतया बदली रहने देखिन्छ भने तराईका क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा र बाँकी प्रदेशका केही पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको प्रक्षेपण गरिएको छ। तराईका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन भनिएको छ।

यो क्रम रातिको समयमा पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश हिमाली र पहाडी भूभागमा बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानका साथै अन्य पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

मौसममा आएको यो परिवर्तनले तापक्रममा गिरावट आउन सक्ने र दैनिक जनजीवनमा सामान्य असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।ब




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *