नेपाली शिक्षा परिषद्द्वारा ९० वर्ष नाघेका १० जना विशिष्ट व्यक्तित्व अभिनन्दित
काठमाडौं। नेपाली शिक्षा परिषद्ले आफ्नो स्थापनाको ७५औँ वर्ष (अमृत महोत्सव) को अवसरमा मुलुकका १० जना विशिष्ट एवं अग्रज व्यक्तित्वहरूलाई विशेष अभिनन्दन गरेको छ।
आइतबार काठमाडौंको सोह्रखुट्टेमा आयोजित एक समारोहका बीच उमेरले ९० वर्ष पार गरिसकेका विभिन्न क्षेत्रका साधकहरूलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
परिषद्ले १०२ वर्षीय दिव्य शताब्दीपुरुष डा. गौरीशंकर लाल दाससहित डा. महेश्वर शर्मा, भद्रकुमारी घले, प्रा.डा. मृगेन्द्रराज पाण्डे, प्रा. चेतोनाथ शर्मा आचार्य, द्वारिका श्रेष्ठ, हरिराम जोशी, प्रा. शंकरराज पाठक, माधव खनाल ‘भावुक’ र तेजेश्वरबाबु ग्वंगलाई अभिनन्दन गरेको छ।
परिषद्की अध्यक्ष रमा शर्माले उनीहरूलाई सम्मानपत्र प्रदान गर्दै अभिनन्दन गरेका हुन्। कार्यक्रममा अभिनन्दित व्यक्तित्वहरूको संक्षिप्त परिचय ज्ञाननिष्ठ ज्ञवालीले प्रस्तुत गरेका थिए।
अभिनन्दित व्यक्तित्व डा. गौरीशंकर लाल दासले आफ्नो मन्तव्यका क्रममा टोखा बसाइका बखतका साहित्य र संगीतसम्बन्धी पुराना स्मृतिहरू साझा गर्दै परिषद्को कार्यको प्रशंसा गरे।
अर्का अभिनन्दित व्यक्तित्व डा. महेश्वर शर्माले परिषद्का संस्थापक गोपाल पाँडे ‘असीम’ सँगको आफ्नो सामीप्य र पुराना दिनहरूको चर्चा गरे। त्यस्तै, भद्रकुमारी घले, प्रा.डा. पाण्डे, प्रा. आचार्य, कवि श्रेष्ठ र जोशीले यो उमेरमा संस्थाले सम्झिएर सम्मान गरेकोमा खुसी व्यक्त गरे।
अध्यक्ष रमा शर्माका अनुसार २००८ सालमा स्थापित यस परिषद्ले २०११ सालमै पहिलोपटक कविशिरोमणि लेखनाथ पौड्यालको ऐतिहासिक अभिनन्दन गरेको थियो।
७५ वर्ष पुगेको अवसरमा संस्थाले साउनसम्म नै अमृत महोत्सवका रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको उनले जानकारी दिनुभयो। स्वास्थ्यका कारण समारोहमा उपस्थित हुन नसकेका प्रा. पाठक, ग्वंग र भावुकलाई उनीहरूकै निवासमा पुगेर अभिनन्दन गरिने परिषद्ले जनाएको छ। कार्यक्रममा शंकरप्रसाद पाण्डेले परिषद्को ऐतिहासिक भूमिका र गतिविधिमाथि प्रकाश पारेका थिए।







डिसी नेपाल







Facebook Comment