धवलागिरिमा धमाधम योजना कार्यान्वयन

डिसी नेपाल
२९ वैशाख २०८३ २२:१७

म्याग्दी। यहाँको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा छनोट गरेका एक सय ५१ मध्ये एक सय २९ योजना धमाधम कार्यान्वयन गर्न थालिएको छ।

चालु आवको १० महिनाको अवधिमा नौवटा ठेक्का र १२० वटा योजना उपभोक्ता समितिसँग सम्झौता गरेर कार्यान्वयन सुरु गरिएकामा ३० वटा सम्पन्न भइसकेका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।

पुँजीगत शीर्षकमा रु १४ करोड ६८ लाख ३५ हजार बजेट विनियोजन भएकामा रु तीन करोड ३० लाख २४ हजार खर्च भएको उनले बताए।

यसैगरी, यस अवधिमा लक्ष्यभन्दा बढी आन्तरिक आम्दानीसमेत भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए। रु ४५ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकामा वैशाख अन्तिम सातासम्म रु ६१ लाख ५२ हजार आम्दानी भएको उनले जानकारी दिए।

वैदेशिक प्रयोजनका लागि कागजात प्रमाणित गराउनेहरू बढेका कारण राजस्व वृद्धिमा सकारात्मक प्रभाव परेको शर्माको भनाइ छ।

योजना कार्यान्वयनका क्रममा वडा नं १ गुर्जालाई सडक सञ्जालमा जोडिएको, जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने सडकको मार्ग खुलेको र मुदीमा वडा कार्यालय भवन सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए।

यस्तै, गुर्जा र मुनामा ढल व्यवस्थापन योजना प्राथमिकताका साथ सञ्चालन भएको, वडा नं ५ को भेडिखाल्टामा पनि यसै आर्थिक वर्षभित्र सडक पुर्याउन निर्माण व्यवसायीले काम सुरु गरेको उनले बताए।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले गुर्जा जोड्ने सडकको देउराली–लत्रवाङ खण्डको अप्ठ्यारो सडक सुधारका लागि ठेक्का लागेको, गुर्जाको ढल व्यवस्थापन योजना निर्माणमा ठेकेदारले गरेको कमजोरी पहिचान गरी भत्काएर पुनः बनाउन लगाइएको, रोकिएको दरवाङ–मुना–ढोरपाटन सडक निर्माणलाई अघि बढाउन ताकेता गरिएको, मुना–जलजला–ढोरपाटन सडकमा यातायात सञ्चालनयोग्य बनाउन पहल भएको बताए।

यसैगरी प्रशासकीय र ताकम अस्पतालको भवन निर्माणलाई पूर्णता दिन प्रयास गरिएको जानकारी दिँदै उनले पालिकाका साथै प्रदेश र सङ्घीय सरकारका योजनालाई गुणस्तरीय बनाउन आवश्यक अनुगमन, निगरानी, सहजीकरण र समन्वय गरेको जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *