मङ्गलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना
म्याग्दी। बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की संरचना निर्माण थालिएको छ।
जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कास्कीले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण सुरु गरेको हो। परियोजनाका ईञ्जिनियर नरजङ गुुरुङले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल बनाउन लागिएको जानकारी दिए।
उक्त आयोजना निर्माणका लागि भैरवी इन्जिनियरिङ प्रालीसँग २०८२ फागुुन १० गते रु ९९ लाख १९ हजार २९५ मा ठेक्का सम्झौता भएको थियो। यही असार १९ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेको छ।
निर्धारित समयभित्र नै आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदारले उपकरण र मजदुर परिचालन गरेको छ। नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसिसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्यावीयन पर्खाल बनाइने भएको हो।
यसअघि मङ्गलाघाटमा आयोजनामार्फत विभिन्न चरणमा ५०० मिटरभन्दा बढी लामो पर्खाल निर्माण भइसकेको छ। बेनी बजारको पश्चिमी भागमा रहेको मङ्गलाघाटमा २०० भन्दाबढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन्।
आयोजनाले बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न विगतदेखिनै सञ्चालन गरेको छ। बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा राखेको छ।
आयोजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटान र पहिरोको जोखिममा रहेका म्याग्दी, मुस्ताङ र पर्वतका १७ स्थानमा सालबसाली योजना निर्माणाधिन रहेका बताए।







डिसी नेपाल







Facebook Comment