शैक्षिक गुणस्तर वृद्धिसँगै आत्मनिर्भर बन्दै गुप्तेश्वर क्याम्पस
गण्डकी । विद्यार्थी अभावका कारण कतिपय सामुदायिक क्याम्पस अस्तित्व जोगाउन सङ्घर्षरत रहे पनि पोखरास्थित छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस भने विद्यार्थीको रोजाइमा परेको छ।
सामुदायिक लगानी र सामाजिक उत्तरदायित्वको उदाहरण बनेको क्याम्पसले शिक्षालाई व्यापारभन्दा सेवा र अवसरका रुपमा अघि बढाउँदै निरन्तर गुणस्तरीय शिक्षामा जोड दिँदै आएको छ।
वि.सं २०६५ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा आएको क्याम्पसमा बिएड, बिबिएस, एमबिएस, बिएचएम, बिआइएलगायत विभिन्न विषयमा ८२५ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ५१४ छात्रा छन् ।
छात्राको सङ्ख्या बढी हुनु आफैँमा यहाँको शैक्षिक वातावरणप्रतिको विश्वास र अभिभावकको भरोसाको सङ्केत भएको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए।
उनका अनुसार ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको गुप्तेश्वर गुफा व्यवस्थापन समितिको आर्थिक लगानी र सक्रियतामा स्थानीय शिक्षाप्रेमी एवं सामाजिक व्यक्तित्वको पहलमा सञ्चालन भएको क्याम्पसको प्रत्येक वर्षको शैक्षिक नतिजाअनुसार मुलुकका क्याम्पसमध्ये उत्कृष्ट दशौँ भित्र पर्न सफल भएको हो।
गुप्तेश्वर गुफा व्यवस्थापन समितिले पर्यटकीय क्षेत्र पातले छाँगो नजिकै खरिद गरेको छ रोपनी जग्गामा २९ कोठे दुई वटा भवन निर्माण गरी क्याम्पसलाई हस्तान्तरण गरेपश्चात् आफ्नै भवनमा सञ्चालनमा आएको बताउँदै उनले भने, “गुफाको धर्मशाला भवनबाट सुरु भएको क्याम्पस आज अत्याधुनिक सुविधा सम्पन्न भवनमा पठनपाठन हुँदै आएको छ ।”
‘प्राकृतिक स्रोतको आम्दानी, शैक्षिक क्षेत्रमा लगानी’ भन्ने मूल नारासहित सञ्चालनमा आएको क्याम्पस पछिल्ला वर्षमा आत्मनिर्भर संस्थाका रुपमा स्थापित भएको छ । सामुदायिक लगानी र सामाजिक उत्तरदायित्वको उदाहरण बनेको यो क्याम्पसले शिक्षालाई व्यापारभन्दा सेवा र अवसरका रुपमा अघि बढाउँदै आएको प्रमुख बरालको भनाइ छ।
“शिक्षक, अभिभावक, विद्यार्थी र यस क्षेत्रका शिक्षाप्रेमी, सामाजिक व्यक्तित्वको अथक प्रयासबाट क्याम्पस आजको अवस्थामा पुग्न सफल भएको हो”, प्रमुख बरालले भने, “मुलुकका कतिपय क्याम्पस विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगे पनि गुप्तेश्वर भने आत्मनिर्भर बन्नेतर्फउन्मुख छ ।”
क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष युवक लामिछानेका अनुसार आर्थिक वर्ष २०८१/०८२ विद्यार्थीबाट मात्रै तीन करोड ६४ लाख १६ हजार १९३ रुपैयाँ आम्दानी भएको थियो । यद्यपि अझै ६९ लाख २९ हजार ७५० रुपैयाँ शुल्क उठ्न बाँकी छ । यो क्षेत्रमा स्नातक तह अध्ययन गराउने क्याम्पसको अभाव हुँदा धेरै विद्यार्थी उच्च शिक्षा लिनबाट वञ्चित हुने अवस्था थियो।
विशेषगरी छोरीबुहारीलाई पढाउनकै लागि टाढा पठाउन नसक्ने परिवारका लागि यो क्याम्पस उपयुक्त भएको बताउँदै उनले भने, “घरकै नजिक गुणस्तरीय शिक्षा पाउने अवसरले धेरै छात्रालाई अध्ययनमा निरन्तरता दिन सहज भएको छ ।”
ग्रामीण तथा मध्यमवर्गीय परिवारका विद्यार्थीका लागि सहज पहुँच, तुलनात्मक रुपमा कम शुल्क, सुरक्षित एवं शान्त वातावरण र व्यावहारिक विषयको पढाइले क्याम्पसलाई शिक्षा क्षेत्रको उदाहरणीय संस्थाका रुपमा चिनाउन थालेको छ । कोषाध्यक्ष लामिछानेका अनुसार चालु आवमा छ करोड १७ लाख २५ हजार १२३ आम्दानी हुँदा पाँच करोड ४८ लाख ९५ हजार ३३३ खर्च भएको छ।
उनले भने, “यो अवधिमा विश्वविद्यालय अनुदान आयोगबाट कार्यसम्पादनतर्फ एक करोड २४ लाख १५ हजार २८० रुपैयाँ र नियमिततर्फ २३ लाख ६० हजार रुपैयाँ, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयर्माफल दुई लाख ४६ हजार २५० रुपैयाँ र संरक्षक संस्था गुप्तेश्वर गुफाबाट ८० लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । ह्रासकट्टीपश्चात् १३ करोड ८४ लाख रुपैयाँ क्याम्पसको स्थिर पुँजी रहेको छ।
क्याम्पस स्थापनाकालदेखि हालसम्म १५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने प्रशासनिक खर्चमा मात्र आठ करोड रुपैयाँभन्दा बढी लगानी क्याम्पस स्थापना गरी सञ्चालन गर्दै आएको संरक्षण सस्था गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले बताए।
गुफाले आगामी आवका लागि पनि आवश्यक रकम विनियोजन गरिने तयारी भइरहेको उनले बताए। उक्त रकम गुफा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले काटेको टिकटबाट सङ्कलन भएको हो।
प्लसटू पास गरेपछि रोजगारको सिलसिलामा विदेशिने कारण विद्यार्थी घट्दै गएको राष्ट्रिय बहसकाबीच यो क्याम्पसले एउटा सन्देश दिएको छ। यदि समुदाय, व्यवस्थापन र शैक्षिक दृष्टिकोण सही भए सामुदायिक क्याम्पस पनि आकर्षणको केन्द्र बन्न सक्दछन्। शिक्षा केवल प्रमाणपत्र बाँड्ने माध्यम होइन, समाज रुपान्तरणको आधार हो भन्ने सन्देश गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले व्यवहारमै देखाइरहेको प्रा.डा. टङ्कराज अधिकारीले बताए। रासस







डिसी नेपाल







Facebook Comment