प्रतिनिधि सभाको कार्यसूची प्रकाशित, प्रधानमन्त्रीले जवाफ दिने

डिसी नेपाल
३१ वैशाख २०८३ १०:५२

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बुधबार तीन पटकसम्म बसेर स्थगित भएको बैठकमा आज सरकारको नीति तथा कार्यक्रममाथिको छलफल र प्रधानमन्त्रीको जवाफ समेटिएको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बुधबार नै पारित गर्ने लक्ष्य राखिएको नीति तथा कार्यक्रम प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिका कारण प्रभावित बनेको हो। संसद् र जनप्रतिनिधिप्रति प्रधानमन्त्री जिम्मेवार नबनेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलहरूले सदनमा नाराबाजी र अवरोध गरेका थिए।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने दिनसमेत प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षी दलहरूले उनको राजीनामा माग गरेका छन्। “प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभएको छ, उहाँ आफैँ उपस्थित भएर जवाफ नदिएसम्म सदन चल्न दिँदैनौँ,” विपक्षी सांसदहरूको अडान रहेको छ।

बुधबारको बैठकमा शून्य समय सकिएलगत्तै सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए। तर, प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीलाई अघि सारिएको भन्दै विपक्षीहरूले संसद् चल्न दिएनन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा पनि प्रधानमन्त्री शाह बैठक छाडेर हिँडेको विषयलाई लिएर सदनमा चर्को आलोचना भएको थियो।

संसद् सचिवालयले आजको कार्यसूचीमा पुनः प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने बुँदा समावेश गरेको छ। यदि आज पनि प्रधानमन्त्री उपस्थित नभएमा वा अन्य मन्त्रीमार्फत जवाफ दिलाउन खोजिएमा सदन पुनः अवरुद्ध हुने देखिन्छ। नीति तथा कार्यक्रम पारित हुन नसक्दा सरकारको बजेट ल्याउने प्रक्रियामा समेत असर पर्न सक्ने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *