प्रधानमन्त्रीको अनुहार हेर्न होइन, जवाफदेहिता खोज्न उपस्थिति मागेका हौं: सांसद खुम्बु ओली
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुम्बु ओलीले संसदमा प्रधानमन्त्रीको उपस्थिति केवल औपचारिकताका लागि नभई शासकीय जवाफदेहिताका लागि हुनुपर्ने बताएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोकतन्त्र चुनाव जित्ने माध्यम मात्र नभएर निरन्तर संवादको अभ्यास भएको उल्लेख गरिन्।
सांसद ओलीले सदनमा प्रधानमन्त्रीको माग हुनु उनको अनुहार हेर्नका लागि नभएको स्पष्ट पारिन्। “हामीले प्रधानमन्त्रीज्यूको उपस्थिति खोज्नु उहाँको अनुहार हेर्नका लागि होइन, उहाँबाट जवाफदेहिता खोजेका हौं,” उनले भनिन्।
पहिलो अधिवेशनमा प्रधानमन्त्री नबोली बाहिरिँदा आफूहरूले स्वीकार गरेको स्मरण गराउँदै उनले दोस्रो अधिवेशनको नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा पनि प्रधानमन्त्रीले अपनत्व नलिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
प्रधानमन्त्रीले सदनलाई छलेर सामाजिक सञ्जालमार्फत जनतासँग संवाद गर्ने गरेकोमा पनि ओलीले कडा टिप्पणी गरिन्। उनले भनिन्, “हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषद्का प्रश्न उठाउँछौं, प्रधानमन्त्रीज्यू सामाजिक सञ्जालमा देश र जनतालाई जवाफ दिनुहुन्छ। सायद प्रधानमन्त्रीज्यू यो सदनप्रति इच्छुक हुनुहुन्न र संसदीय अभ्यासप्रति उत्तरदायी बन्न चाहनुहुन्न।”
सांसद ओलीले प्रधानमन्त्रीको आवाजले सदनलाई दिशा निर्देश गरोस् भन्ने सांसदहरूको चाहना भए पनि सरकार प्रमुख नै संसदीय गरिमा र जवाफदेहिताबाट भाग्न खोजेको आरोप लगाइन्।







डिसी नेपाल







Facebook Comment