सभापति थापा भन्छन्- सरकारलाई सही बाटोमा राख्ने तागत कांग्रेससँग छ

डिसी नेपाल
३१ वैशाख २०८३ १६:३३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई सही ठाउँमा राख्ने सामर्थ्य कांग्रेसले राख्ने बताएका छन्।

गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री वा सरकारको नेतृत्वमा रहेकाहरू नियम र कानुनभन्दा बाहिर जान नसक्ने बताएका हुन्।

महामन्त्री थापाले कांग्रेसले सरकारको अन्धविरोध नगर्ने बरु राम्रो कामको समर्थन गर्ने नीति लिएको बताए। वर्तमान सत्ता गठबन्धनप्रति लक्षित गर्दै उनले भने, ‘रास्वपाले ५ वर्ष सरकार चलाउने अवसर पाएको छ, चलाओस्। तर, सरकार सही ढङ्गले चल्नुपर्छ। संविधानलाई तलमाथि हुन नदिने तागत हामीले राख्नुपर्छ।’

उनले सुशासनका लागि पुरानो गतिले नपुग्ने उल्लेख गर्दै भने, ‘मैले निर्वाचनअघि पनि भनेको थिएँ— कांग्रेसले सरकार चलाउने मौका पायो भने बेगले गाडी चलाउँछ। सुशासन ल्याउन हिजोको ‘स्पिड’ ले सम्भव छैन।’

थापाले सरकार गति र बेगको नाममा लहडमा लाग्न नहुने भन्दै सचेत गराए। राज्यले निजी क्षेत्रसँग गरिरहेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले यसको ठुलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।

साथै, उनले केन्द्रमा जस्तै प्रदेश सरकारहरूले पनि जनताले उठाएका प्रश्नको जवाफ दिन सक्नुपर्ने र जिम्मेवार बन्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *