पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिनेछ : सभापति थापा
गण्डकी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा रहेर काम गर्ने सदस्यहरूका समस्या सुन्न र समाधान गर्नका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्न लागिएको बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय भेलाको उद्घाटन गर्दै उनले पार्टीका सबै सदस्यलाई केन्द्रसँग सदस्यहरूलाई प्रत्यक्ष जोड्नका लागि सदस्यता अद्यावधिक गर्न लागिएको बताए। यसबाट पार्टी सङ्गठनलाई आमसदस्यको भावनाअनुसार अघि बढाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
पार्टीलाई सङ्गठित र एकताबद्ध बनाएर लैजाने प्रयास निरन्तर भइराखेको बताउँदै सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात् गर्न आग्रह गरे।
राज्य र नागरिकबीचको सेतुका रूपमा पार्टी रहेको बताउँदै उनले पार्टीबाट जिम्मेवारी पाएर निर्वाचित जनप्रतिनिधिले पार्टीसँग समन्वय गर्दै जनभावनाअनुसार काम गर्नुपर्नेमा जोड दिए। सरकार संविधान, विधि र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिँदै उनले विधि पद्धतिअनुसार नचलेमा कांग्रेसले निरन्तर खबरदारी गर्ने बताए।
नेपाली कांग्रेसका उपभापति विश्वप्रकाश शर्माले समाज रुपान्तरणका लागि सबै एकताबद्ध भएर जानुको विकल्प नभएको धारणा राखे। सङ्घीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएर लैजानेमा कांग्रेसले सरकारलाई साथ दिने बताउँदै उहाँले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै अघि बढ्न सरकारलाई आग्रह गरे।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो नेतृत्वको सरकारले गरेका कामबाट कोही पनि पार्टी सदस्यले शिर निहुराउनु नपर्ने जिकिर गरे। पार्टीलाई भावनात्मक रूपमा एक बनाएर अघि बढाउन उनले आग्रह गरे। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई तल्लो तहबाटै बलियो बनाएर लैजानुपर्ने आवश्यकता औंल्याए।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जनताको मन जित्ने गरी काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे। नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीका स्थापनाकालीन मूल्य र आदर्शलाई लिएर जान सकेमा त्यसले पार्टीलाई बलियो बनाउने बताए।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शर्मा, नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका उपप्रमुख मधु आचार्य, नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्री विष्णुप्रसाद लामिछानेलगायत वक्ताले आ-आफ्नो धारणा राखेका थिए।
शुक्रबारसम्म सञ्चालन हुने भेलामा प्रदेशभित्रका केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष ११ वटै जिल्ला सभापति, कास्की जिल्लाका महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यलगायत ३८० जनाको सहभागिता रहेको नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य एवम् प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment