संसद्को अपमान गरेको भन्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री शाहको राजीनामा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कडा आलोचना गर्दै नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै साम्पाङले प्रधानमन्त्री शाहले संसदीय प्रणालीको हुर्मत लिएको र लोकतान्त्रिक मूल्य–मान्यतालाई बेवास्ता गरेको आरोप लगाएका हुन् । अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्नुका पछाडि मुख्य ४ वटा बुँदाहरू अघि सारेका छन्:
१. राष्ट्रपति र नीति तथा कार्यक्रमको अपमान: २०८३ वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री स्वयं हलबाट बाहिरिएर सभामा नफर्किएको विषयलाई साम्पाङले गम्भीर त्रुटि मानेका छन् ।
२. संसदमा अनुपस्थिति: नीति तथा कार्यक्रममाथिको छलफलका लागि संसदमा पेस गर्न र प्रतिपक्षले उपस्थिति माग गर्दा समेत प्रधानमन्त्री संसदमा उपस्थित नभएको विज्ञप्तिमा उल्लेख छ ।
३. कामप्रति गैरजिम्मेवारी: संसदमा उपस्थित नभई नजिकैको कार्यालयबाट संसदीय गतिविधि ‘लाइभ’ हेरेर बस्नु तर जनताका प्रतिनिधिले उठाएका प्रश्नको उत्तर दिन संसदको रोष्ट्रममा नआउनुले संसदीय परम्पराको बेवास्ता गरेको साम्पाङको ठहर छ ।
४. संसदलाई सम्बोधन नगर्नु: हालसम्म संसदको कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगरेर प्रधानमन्त्रीले सारा नेपाली जनता र लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको आरोप लगाइएको छ ।
‘संसदीय अभ्यासमा कालो धब्बा’ साम्पाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जुन संसदबाट चुनिएर प्रधानमन्त्री बनेको हो, त्यही संसदलाई अपमान गर्ने र लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर बसाउँछ? न्यूनतम कर्तव्य समेत पूरा नगरेको कारण नैतिकताका आधारमा पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्दा मात्र लोकतन्त्र र जनता सम्मानित हुने देखिन्छ ।”
यस्तै, सरकारले संसदलाई छलेर अध्यादेशको बाटोबाट हिँड्न खोजेको भन्दै साम्पाङले यसलाई ‘संसदीय शक्तिको उपहास’ बताएका छन् । उनले सरकार गरिब र दुःखी जनतालाई आतङ्कित बनाउन र बेघर बनाउन मात्र लागेको तर सीमा रक्षा जस्ता न्यूनतम जिम्मेवारीमा समेत नालायक सावित भएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री बालेन शाहले संसदीय मर्यादा कायम राख्न नसकेको भन्दै साम्पाङले यस घटनालाई संसदीय इतिहासकै ‘कालो धब्बा’ को संज्ञा दिएका छन् ।








डिसी नेपाल







Facebook Comment