दिल्लीको छोटो यात्रा अन्तिम भाग : इन्द्रप्रस्थ क्षेत्र
यसपालीको दिल्ली भ्रमणको अन्तिम दिन हामी अपोलो अस्पताल जाने क्रममा पुराना किल्ला हुँदै इन्द्रप्रस्थमा अवस्थित सो अस्पतालमा पुग्यौं। भारतका दोस्रो मुगल वादशाह हुमायुद्वारा निर्माण गर्न शुरु गरिएको यो किल्ला दिल्लीमा ठूला प्रदर्शनीहरू आयोजना हुने प्रगति मैदानको नजिक पर्दछ।
मथुरा जाने राजमार्ग हुँदै नै हामी पुराना किल्ला र यसको सेरोफेरोमा रहेको इन्द्रप्रस्थ पनि जानु पर्दछ। मुगल साम्राज्यका वादशाह हुमायुलाई युद्धमा पराजित गरेपछि केही समय सुर साम्राज्यका वादशाह शेर शाह सुरीले सो राज्यमा राज गरेर यो किल्लाको बाँकी निर्माण कार्य सम्पन्न गरेका थिए।
पछि फेरि हुमायु लगायत अन्य मुगल वादशाहहरूले यो किल्लाको संरक्षण र सदुपयोग गरे भने दिल्लीमा १७औँ शताव्दीमा मुगल सम्राट शाहजहाँले लाल किल्ला बनाउन लगाएका थिए।
त्यसैले त्यतिबेला दिल्लीलाई शासजहानावाद भनेर पनि चिनिन्थ्यो। मुगल सम्राटहरू दिल्ली, लाहोर, आग्रा र फतेहपुरसिक्रीलाई राजधानी बनाएर शासन गर्ने गर्दथे।
१६ औँ शताव्दीमा मुगल वादशाह हुमायुले निर्माण गर्न लगाएको पुरानो किल्ला नजिकको भग्नावशेषलाई पाण्डवहरू कै समयको हुन सक्ने कुरा अन्वेषकहरूले उल्लेख गरेका छन्। मथुरा जाने बाटोमा नै देखिने यो किल्ला दिल्लीको लाल किल्ला भन्दा निकै पुरानो र भग्न देखिन्छ।
पुरानो इन्द्रप्रस्थ राज्य नजिकै भएकोले यो किल्लालाई ‘पाण्डवोँका किल्ला’ भन्ने गरिन्थ्यो तर पाण्डवहरूको दरवार भनिएको भवन र अन्य संरचनाको भग्नावशेष भने यो किल्लाभन्दा केही पर भेटिएको छ। त्यस्तै भगवान श्रीकृष्णको जन्मथलो भनेर चिनिएको मथुरा दिल्लीबाट १६२ किलोमिटर दक्षिण–पूर्वमा पर्दछ।
सन् १९४७ मा भारत र पाकिस्तान दुई अलग राज्यमा विभाजित भएपछि पाकिस्तान जान चाहने मुस्लिमहरू मध्ये झण्डै २ लाखले पुराना किल्लामा शरण लिएर बसेका थिए र पछि उनीहरूलाई रेलमा पाकिस्तान पु¥याइएको थियो भन्ने कुरा पनि इतिहासमा उल्लेख छ।
पछिल्लो समयमा यो पुराना किल्लामा नाटक मञ्चन हुनुका साथै सांगितिक कार्यक्रमहरूको आयोजना हुने गरेको थियो भने हाल यहाँ बेलुकीको समयमा ‘साउण्ड एण्ड लाइट शो’ मार्फत दिल्लीका ७ वटै पुराना शहरहरूको इतिहास बारे जानकारी दिने गरिएको छ।
भारतको राजधानी दिल्लीको निकै पुराना तथा ऐतिहासिक क्षेत्रहरू मध्ये इन्द्रप्रस्थ पनि पर्दछ। व्यास ऋषिद्वारा लेखिएको महाभारतमा समेत उल्लेख भएको र यमुना नदीको किनारमा अवस्थित इन्द्रप्रस्थ पाण्डवहरूको राज्य कुरु क्षेत्रको राजधानी थियो।
यमुना नदीको किनारामा रहेको घना जंगललाई कृष्ण र अर्जुनले फाँडेर इन्द्रप्रस्थ नगरको निर्माण गरेको कुरा पनि शास्त्रहरूमा वर्णित छ। पालीहरूको वौद्ध शास्त्रमा पनि यो क्षेत्र पाण्डवहरूको भएको र यसको नाम इन्दपट्ट रहेको उल्लेख छ।
पाण्डवहरूको समयका भाँडाकुँडा तथा अन्य सामान त्यहाँ नभेटिएको तर कुशान र मौर्य सभ्यताका सामग्री भने भेटिएका छन्। जे होस् यो क्षेत्र दिल्लीका ७ अति पुराना राज्य र भारत कै एक निकै ऐतिहासिक क्षेत्रमध्येको हो।
हामी इन्द्रप्रस्थमा नै अवस्थित भारतको सबैभन्दा विशाल र एशियाकै ठूलोमध्येको इन्द्रप्रस्थ इन्डोर रङ्गशाला हुँदै गयौँ। सन् १९८२ मा भारतमा भएको एशियन गेम्सको हलभित्र (इन्डोर) खेलिने खेलहरूको निम्ति निर्माण गरिएको यो भव्य रङ्गशालाको अवलोकन गर्न मैले सन् १९८५ तिर पाएको थिएँ।
त्यतिबेला खासगरी साइकल कुदाउने भेलोड्रोम र खेलाडीहरू बस्न बनाइएको भिलेज देखेर मेरो मन निकै रोमाञ्चित भएको थियो। आज यहाँ वातानुकुलित भेलोड्रोमको पनि निर्माण भइसकेको रहेछ।
त्यतिबेला दिल्ली शहरबाट अलिक परको यो शान्त क्षेत्रमा यो रङ्गशालाको निर्माण गरिएको थियो तर आज आएर यो क्षेत्रमा घना बस्ती र ठूला ठूला व्यावसायिक, शैक्षिक तथा स्वास्थ्य प्रतिष्ठानहरू खुलिसकेका छन्।
पछि सन् २०१० मा भएको कमनवेल्थ गेम्सको निम्ति ठूलो धनराशी खर्च गरेर यो रङ्गशालाको पुनःनिर्माण गरिएको थियो। हाल यो रङ्गशालाको नाम इन्दिरा गान्धी इन्डोर स्टेडियम राखिएको छ।
कुनै पनि मुलुकको खेलकुदको विकासमा त्यहाँ उपलब्ध हुने भौतिक पुर्वाधारले ठूलो भूमिका खेल्ने गर्दछ। खेलकुदको क्षेत्रमा भारत सरकारले ज्यादै ठूलो लगानी गर्दै आएको छ भने त्यहाँ विभिन्न खेलकुदले व्यावसायिक रूप पनि धारण गरेकोले खेलकुद क्षेत्रबाट आम्दानी पनि प्रसस्त हुने गर्दछ।
हामी यस्तो मुलुकमा बस्दछौँ जहाँ कुनै पनि खेलकुदसँग सम्बन्धित गर्व गर्न लायकको खेल मैदान वा रंगशाला नै छैन। तर पनि हाम्रा खेलाडीहरूले निकै मेहनत गरेर अन्तर्राष्ट्रिय खेलहरूमा केही पदक जित्ने गरेका छन्। पछिल्लो समयमा नेपाली क्रिकेट टोलीले नेपालको नाम निकै उच्च बनाएका छन्।
आज अस्पतालमा पुगेर हामीसँग गएका बिरामीको अतिरिक्त जाँच गराउने काम भयो। विदेशीको निम्ति प्रतिक्षा गर्ने छुट्टै स्थान बनाइएको भए पनि सो अस्पतालले निकै नाम कमाएकोले होला त्यहाँ हरेक दिन बिरामी र उनका मानिसको ठूलो भीड लाग्दो रहेछ।
हाम्रो पालो आए पछि बल्ल तल्ल चिकित्सकको खोपीमा पसेर उनको सल्लाह लिइयो र उनले लेखिदिएका रक्त र पिसाबका स्याम्पलको लागि मोटो रकम बुझाउन रकम भुक्तानी काउन्टरमा गयौँ।
हिजोआज नेपाली बैंकका कार्डबाट भुक्तानी गर्न सजिलो हुने भए तापनि त्यो दिन किन हो कुन्नी हाम्रा कुनै पनि कार्डबाट रकम निकाल्न मिलेन। आखिर हाम्रो दिल्लीको नातेदारको कार्डबाट भुक्तानी गरेर अस्पतालको काम सक्काइयो।
हामी भोलीपल्ट फर्कने तर रिपोर्ट पर्सीपल्ट मात्र आउने भएकोले उनीहरूले इमेल र ह्वाट्सएप मार्पmत् हामीलाई र हाम्रो काठमाडौँस्थित अस्पतालमा रिपोर्ट पठाइ दिने भए।
प्रविधिले विशाल फड्को मार्दै गएको आजको युगमा चिकित्सा विज्ञानमा निकै प्रगति भएको छ भने सूचना प्रविधिको सुगमताले गर्दा पनि जीवन निकै सहज हुन पुगेको छ।
अस्पतालको बाहिर नै दिल्ली मेट्रोको भव्य स्टेशन र एक ठूलो मल पनि रहेछ। यो क्षेत्र आजभन्दा ३०–४० वर्ष अघिसम्म गाउँजस्तो रहेको र यमुना नदीको किनारामा भएकोले यहाँ खेतीपाती पनि खुबै हुने गर्दथ्यो।
तर आज दिल्ली शहरको व्यापक विस्तारसँगै यो क्षेत्र पनि दिल्ली शहरभित्रको मुख्य इलाकामा नै गनिने घना वस्तीमा परिणत भइसकेको छ। सुन्नमा आए अनुसार त्यहाँका खेती योग्य जमीनहरू ठूला ठूला निर्माणकर्ताहरूले ५० वर्षभन्दा पनि बढी समयको निम्ति भाँडामा लिने चलन छ।
यसरी भाँडामा जमीन दिँदा सो पुस्ताका किसानले खेती-किसानी नै नगरी भाँडा खाएर बस्न पाउने र पछिका पिँढीले भाँडा अवधि सकिए पछि निर्माण भएका ती संरचनाहरूको स्वामित्व ग्रहण गर्न पाउने वा निकै राम्रो दाममा निर्माता कम्पनी वा अन्य खरिदकर्तालाई नै बेच्न पाउने र समृद्ध जीवन यापन गर्न पाउने। दुवै पक्षलाई फाइदा नै फाइदा। यसरी कृषियोग्य जमीन शहरमा परिणत हुँदै गएको अवस्था।
घर फर्कंदा हामी दिल्लीको अर्को नयाँ तथा विशाल शहरी बस्ती नोयडामा रातीको खाना खाने हिसाबले गयौँ। दिल्लीमा पछिल्लो समयमा बनेको विस्तारित शहर भएकोले यो निकै भव्य छ। नोयडा उत्तर प्रदेशमा पर्दछ।
राजधानीका अभिन्न र महत्वपूर्ण भाग भए पनि नोयडामा कतिपय कुरामा उत्तर प्रदेशको नियम र कानुनले पनि काम गर्दछ भने गुरुगाउँमा हरयाणाको। चौडा सडक, जनसङ्ख्याको हिसाबले कम चाप भएको क्षेत्र र नयाँ तथा अग्ला घरहरू भएको समृद्ध शहर हो नोयडा। राति पुग्दा झनै झकिझकाउ वातावरण। कतै विकसित मुलुकमा नै पुगे जस्तो भान हुने।
नोयडाको दोस्रो औद्योगिक क्षेत्रको सेक्टर ६२ मा अवस्थित ‘बारबेक्यु नेशन’ नामक रेष्टुरेन्ट पोलेको मासु र बुफे लन्च तथा डिनरको निम्ति निकै लोकप्रिय रहेछ।
रेष्टुरेन्टमा पस्दा प्रत्येक ग्राहकले तिरेको १२ सय रुपैयाँमा टेबुलमा नै चुलो बालिदिएर झिरमा पोलेका विभिन्न खालका मासु, हल्का पेय पदार्थ, बुफेमा लगाएका स्वादिला खाना र डेसर्ट खान सके जति खाए हुने। त्यहाँको बिर्यानी, रोटी र मासु अनि तरकारीका परिकार निकै स्वादिला र लोकप्रिय रहेछन्।
सोही खर्चमा साना केक काटेर ग्राहकहरूको जन्मदिन मनाउने र फोटो खिच्ने चलन पनि रहेछ। धेरै ग्राहकहरू आफ्ना नक्कली जन्मदिन मनाएर फोटो खिच्दै रमाइरहेका। मेरा आफन्तले मलाई पनि नक्कली जन्मदिन मनाउन र फोटो खिच्न गरेको आग्रह मलाई निकै लाज लागेकोले अस्विकार गरिदिएँ।
तर यो सब कुरा निकै चाखका साथ अनुभूत गर्न पाइयो। फर्कने बेलामा ज्यादै स्वादिलो चिसो कुल्फी खाँदै बाहिर निस्कियौँ। त्यहाँका सडकमा आधा रातमा पनि मानिसहरू डुलि नै रहेका थिए भने कतिपय पसलहरू पनि खुला नै थिए। घर पुग्दा रातीको २ बजिसकेको। अन्तिम रात भएकोले केही बेर रमाइला गफ पनि गरियो।
भोलिपल्ट निद्रा नपुगेको भए पनि छिटै उठेँ र छतमा गएर कसरत गरेँ। एक मनले आज घर जाने भनेर खुशी लागेको र अर्को मनले घुम्नै पुगेको थिएन भन्ने नियास्रोपना। आखिर यो नै अन्तिम भ्रमण त होइन नि भनेर मनलाई शान्त तुल्याएँ।
सबै जनाले नास्ता पछि केही बेर नजिकको सपिङ मलमा गएर किनमेल गर्ने निधो गर्यौं र बाटो तताई हाल्यौँ। घरका परिवारजनलाई केही न केही कोसेली लगिदिने हामी नेपालीको चलन। त्यसैले मान्छे सम्झँदै केही कपडाहरू किनेँ मैले पनि।
घर फर्केर सबैको गुण्टा कसेर हामी विमानस्थलतर्फ रवाना भयौं। हामी बसेको ठाउँबाट २० मिनेट जतिको मात्र मोटर यात्रा। बाटोमा पर्ने सञ्जय वनतिर मोटरगाडीबाटै एक नजारा लगाएर हामी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौँ। हाम्रो बिरामी आफन्त ह्विल चेयरमा भएकोले त्यहाँ विशेष सेवा प्राप्त भयो।
सुरक्षा जाँचको लामो लाइनबाट पनि हामी बच्यौँ र ह्विल चेयरवाला यात्रुको लागि छुट्टाइएको लाइनबाट सहजै पार भयौँ। योभन्दा अघिल्लो चोटी दिल्लीबाट काठमाडौँ फर्कंदा त्यहाँको सुरक्षा जाँचको ज्यादै लामो लाइनलाई पार गरेर भित्र पस्न र विमान प्रतिक्षा कक्षतर्फ जान निकै कठीन भएको थियो। तर यसपाली हामी निकै छिटो यो सब बाधा पर गरेर विमान प्रतिक्षा कक्षमा पुग्यौँ र आफ्ना हाते व्यागहरू बिसाएर एकछिन आराम गर्न पायौँ।
दिल्लीको विशाल र व्यवस्थित विमानस्थलमा घुम्दा बैंकक, सिंगापुर, हङकङ वा दुवई वा दोहाको विमानस्थलमा भएकै भान हुने। त्यहाँको करमुक्त पसलहरू घुमेर एकाध बोतल ह्विस्की र बच्चाहरूलाई चकलेट किन्न पनि भ्याइयो। नेपाली मुद्राको कार्डबाट पनि सामान खरिद गर्न पाइने तर पासपोर्ट भने आवश्यक पर्ने।
भारतका ठूला शहरहरूमा विश्व प्रसिद्ध सबैजसा ब्रान्डका सामान पाइने मलहरू भएका र नेपालको बैंकको आफ्नो खाताको कार्ड लिएर गए पछि सहज तवरले किनमेल गर्न पाइने, घुमफिरको साथै मठमन्दिर र विभिन्न तिर्थको पनि दर्शन गर्न पाइने र हाम्रोसँग मिल्दो जुल्दो भाषा, संस्कृति, संस्कार र धर्म पनि त्यहाँ भएको र आवत जावत गर्न ठूलो धनरासी खर्च गर्न नपर्ने र भीसा नपर्ने भएकोले नेपालीलाई भारत र भारतीयलाई नेपालको भ्रमण गर्दा विदेश गएको भन्दा पनि बढी सजिलो र रमाइलो हुन्छ।
एक कप मिठो कफी पिउँदा पिउँदै नेपाल वायुसेवा निगमको वाइड वडी विमान आएर हाम्रै विशाल झ्याल अगाडि रोकियो। आफ्नो मुलुकको विमान देख्दा पनि कति खुशी लाग्ने। विमानको प्रतिक्षामा बसेका यात्रुमा अधिकांश नेपाली र भारतीय तथा केही युरोपेली जस्ता पनि। तर विमान पुरै भरिएको। ठीक समयमा नै विमान उड्यो पनि। खाना राम्रो खाइयो।
हाम्रो राष्ट्रिय ध्वजावाहकसँग ज्यादै कम विमान भएकोले यसले निकै सिमित सेवा मात्र प्रदान गर्न सक्दछ। त्यस माथि भ्रष्टाचार र अनियमिततामा हाम्रो सरकारी विमानसेवा चुर्लुम्म डुबेको छ।
हालै मात्र सरकारले सरकारी वायुसेवा प्रदायकहरूले विमान भाँडामा लिन वा खरिद गर्न तथा विमान मर्मत गर्न लामो प्रकृया पूरा गर्न नपर्ने गरी त्यस्तो प्रकृयालाई सरल बनाएको कुरा समाचारमा सुन्नमा आएको थियो।
यसो हुनाले अब यदि नेवानीको व्यवस्थापन चुस्त भएर भ्रष्टाचार र अनियमितता हट्न गएको खण्डमा यसलाई आवश्यक विमान भाँडामा लिएर पनि सञ्चालन गर्न सक्ने छ।
जब भाँडाको विमान पनि स्थायी रूपमा व्यस्त हुन थाल्दछ र राम्रो आम्दानी गर्ने हुन थाल्छ, तब मात्र क्रमिक रूपमा नयाँ विमान खरिद गर्दा नेवानीलाई फाइदा हुन जान्छ। हालको नयाँ सरकारले यसलाई पुनर्जीवन दिने प्रण गरेको छ। आशा गरौँ हाम्रो राष्ट्रिय ध्वजावाहक नयाँ उँचाइमा पुग्ने छ भनेर।
नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससँग एक दर्जन विमान पनि नभएकोले त्रिभुवन विमानस्थलमा नेपाली भन्दा पनि विदेशी विमानहरू धेरै देखिन्छन्। खासगरी पञ्चायतको अवसान पछि देखि नेपाल वायुसेवा निगम विभिन्न राजनीतिक दलका नेता तथा कर्मचारीको लुटेर खाने भाँडो भएको छ।
निकै वर्षसम्म नयाँ जेट थप्न समेत नसकेको यो विमान सेवामा विभिन्न प्रकारका काण्डहरू भएका र दल, नेता, कर्मचारी र युनियनले सकेसम्म दोहन गर्ने गरेकोले यो विमानसेवा करिव करिव धरासायी नै भइसकेको थियो। एक दशक अघि चार थान जेट विमान खरिद गरेपछि भने यसको प्राण पुनः प्रतिस्थापन हुन गयो तर त्यो पनि घिटी घिटी अवस्थामा।
सन् १९३२ मा टाटा ग्रुपद्वारा स्थापना गरिएको भारतको राष्ट्रिय ध्वजावाहक वायुसेवाको नाम ‘टाटा एयरलाइन्स’ थियो। तर भारत स्वतन्त्र भए पछिको नेहरु सरकारले यसलाई सन् १९५३ मा राष्ट्रियकरण गर्नुका साथै ‘एयर इन्डिया’ नामाकरण गर्यो।
सन् १९६० मा यसले त्यतिबेलाको अत्याधुनिक बोइङ ७०७ जेट विमान खरिद गरे पछि यो विमानसेवा एशियामा नै जेट विमान सञ्चालन गर्ने प्रथम विमानसेवा हुन पुग्यो।
लामो समयक्रममा निकै पटक आर्थिक र व्यवस्थापकीय समस्या भोगेको यो वायुसेवालाई पटक पटक नीजिकरण गर्ने योजना भारतीय सरकारले बनाएको थियो। केही वर्ष अघिसम्म पनि यो विमान सेवा सरकारी स्वामित्वमा नै रह्यो।
इन्डियन एयरलाइन्स लगायत अन्य केही साना भारतीय सरकारी वायुसेवाहरू व्यवस्थापकीय कमजोरीले गर्दा धराशायी हुने अवस्था आए पछि एयर इन्डियामा नै समाहित भएका थिए।
तर भारत जस्तो बलियो प्रशासकीयतन्त्र भएको मुलुकमा पनि एयर इन्डियालाई जोगाएर राख्न त्यहाँको सरकारलाई निकै कठीन भए पछि हालै केही समय अघि यसलाई नीजिकरण गरेर पहिले कै मालिक टाटा कम्पनीलाई विक्री गरियो।
हाल एयर इन्डियामा टाटा कम्पनीको ७५ प्रतिशत र सिंगापुर एयरलाइन्सको २५ प्रतिशत शेयर छ। नीजिकरण पछि यो विमानसेवाले सयौँ नयाँ विमान थप्ने योजना अनुसार बोइङ र एयरबसका विमानहरू खरिद गर्न लागेको छ भने यसको सेवामा पनि अभिवृद्धि हुँदै गएको छ।
तर पनि यसले राम्रो आम्दानी गर्न सकेको छैन र अझै पनि यो विमानसेवा मुस्किलले नै चलिरहेको छ। यसमा लगानी गरेको रकमले अझसम्म पनि फाइदा निकाल्न नसकेकोले यसमा २५ प्रतिशत शेयर लगानी गर्ने सिंगापुर एयरलाइन्स समेत असहज परिस्थितिको सामना गर्न वाध्य छ।
हालै मात्र पाकिस्तान एयसलाइन्सलाई पनि पाक सरकारले नीजिकरण गरेको छ। हाम्रो जस्तो कमजोर अर्थतन्त्र र अस्तव्यस्त प्रशासनिक संरचना भएका मुलुकमा सरकारी क्षेत्रले विमानसेवा जस्तो निकै चुस्त र प्रतिस्पर्धात्मक तवरले चल्नु पर्ने संस्थालाई नीजिकरण गरेर त्यसमा एउटा विदेशी रणनीतिक साझेदार भित्राउनुमा नै कल्याण हुन्छ।
नजिकका छिमेकीहरूबाट सिकेर हामी पनि छिटो त्यही बाटोमा जानु उत्तम हुन्छ। यस्तो प्रकारको नीजिकरणमा जाँदा हाल नेपालमा सफलतापुर्वक आन्तरिक र वाह्य वायुसेवा सञ्चालन गरिरहेका नीजि विमानसेवाहरू र आम जनतालाई पनि शेयर खरिद गर्न हौस्याउनु राम्रो होला।
नेपाल वायुसेवा निगमसँग हाललाई एक दर्जन न्यारो र वाइड बडी विमान भए भने यसले छोटो र मध्यम दूरीका मुलुकहरूसम्म आफ्नो पहुँच राम्ररी पुर्याउन सक्दथ्यो भने हाल नेपालसँग यथेष्ट विमान नभएकोले निकै फाइदा गर्न सफल विदेशी वायुसेवासँग पनि राम्रै प्रतिष्पर्धा हुने थियो। यस्तो प्रतिष्पर्धाले यात्रुलाई पनि फाइदा नै पुग्दछ।
काठमाडौंमा सुरक्षित अवतरण पछि विमानबाट बाहिर निस्कँदा ठण्डी हावा खाँदा निकै आनन्द आएको थियो। पहिलेभन्दा अहिले आगमन कक्षहरू पनि निकै व्यवस्थित भएका रहेछन्।
तर एक विशाल विमानस्थलबाट काठ्माडौँको त्रिभुवन विमानस्थलमा आउँदा गाउँमा पुगेको भान हुने। कम जनसंख्या भएको र यात्रुको कम चाप भएको मुलुकको विमानस्थल यस्तै नै हुने हो। व्यवस्थित भने हुनु पर्यो र जुन हुँदै पनि गएको छ।
-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।















Facebook Comment