आचार, विचार र अनुसरण: सिद्धान्त र व्यवहार बीचको गहिरो खाडल
संसारमा अरबौं मानिसहरू छन् र उनीहरूका विचार एवं दृष्टिकोणहरू पनि उत्तिकै विविधतापूर्ण रहेका छन्। मानव सभ्यताको विकासक्रमसँगै समाजमा राजनीतिक, आर्थिक, धार्मिक र दार्शनिक जस्ता विभिन्न विचारधाराहरूको जन्म भएको छ।
विचारले जीवनलाई एउटा निश्चित मार्गदर्शन प्रदान गरे तापनि विचार मात्र हुनु पर्याप्त हुँदैन। मानिसको वास्तविक महानता उसले बोक्ने उच्च विचारमा भन्दा पनि उसको आचरण र ती विचारको इमानदार अनुसरणमा निहीत हुन्छ।
तर विडम्बनाको कुरा, वर्तमान विश्वमा मानिसहरू जे बोल्छन् वा जे सोच्छन्, त्यसलाई व्यवहारमा उतार्न नसक्दा सिद्धान्त र व्यवहार बीच एउटा गहिरो खाडल निर्माण भएको छ। मानव इतिहासमा ठूला-ठूला दार्शनिक, राजनीतिज्ञ, अर्थशास्त्री, मनोवैज्ञानिक र धर्मगुरुहरूले समाजलाई सही दिशा निर्देश गर्न विभिन्न सिद्धान्तहरू प्रतिपादन गरे।
तर, इतिहासदेखि वर्तमानसम्मको अवस्थालाई नियाल्दा जति आदर्शका कुराहरू गरिए, ती अनुसारको आचरण गर्नेहरूको संख्या निकै न्यून देखिन्छ। चाहे ती ठूला उद्योगपति र अरबपति हुन् वा शक्तिशाली राष्ट्रका शासक, उनीहरूको व्यक्तिगत आचरण र उनीहरूले सार्वजनिक रूपमा प्रचार गर्ने सिद्धान्त बीच सधैँ एउटा ठूलो दूरी रहने गरेको पाइन्छ।
शासक र राजाहरूको इतिहासले के देखाउँछ भने सत्तामा पुगेपछि धेरैमा घमण्ड र उन्माद पैदा हुने गर्दछ। संसारमा कतिपय राजाहरू निरंकुश बनेका कारण अन्ततः मारिए वा उनीहरूको पतन भयो।
कतिपय राजसंस्थाहरू बिस्तारै संसारबाट लोप हुनुको मुख्य कारण उनीहरूले आफ्नै पदको गरिमा र जनताप्रति गर्नुपर्ने आचरणको पालना नगर्नु नै हो। त्यसैगरी, लोकतान्त्रिक भनिएका राष्ट्रका राष्ट्रपतिहरूको अवस्था पनि उस्तै छ।
कतिपय राष्ट्रपतिहरू आफ्नै अनुशासनहीनता र भ्रष्ट आचरणका कारण सत्ताच्यूत भएका छन् भने कतिले विदेशी भूमिमा शरण लिनुपरेको वा आफ्नै देशमा नजरबन्दमा रहनुपरेको तीतो यथार्थ छ।
शक्तिशाली राष्ट्रहरूले साना र निमुखा राष्ट्रहरूलाई दबाबमा राख्ने, प्रभाव पार्ने र मौका पाउनासाथ अर्को राष्ट्रको भूभाग आफ्नोमा मिसाउनेसम्मका कठोर कदमहरू चालेका छन् यस्ता गतिविधिले अन्तर्राष्ट्रिय कानुन र मानवीय आचारको धज्जी उडाइरहेको छ।
आजको विश्वमा जताततै हत्या, हिंसा, युद्ध र त्रास फैलिरहेको छ। मानिसहरूमा एकअर्कासँग सामञ्जस्यता कायम गर्ने र मिलिजुली बस्ने आचरणको खडेरी परेको देखिन्छ।
हामी आधुनिक र सभ्य त भनिएका छौँ, तर हाम्रा क्रियाकलापहरूले कतिपय अवस्थामा आदिम बर्बरतालाई पनि माथ गरिरहेका छन्। विश्वका ठूला राजनीतिज्ञहरूले विभिन्न शासन प्रणाली र सिद्धान्तको प्रतिपादन गरे तापनि त्यसलाई व्यवहारमा उतार्न कोही पनि पूर्ण रूपमा समर्थ देखिएका छैनन्।
धेरैजसो राजनीतिक दर्शनहरू केवल कागजमा सीमित छन् वा सत्ता प्राप्तिको भर्याङ मात्र बनेका छन्। जब मानिसले आफ्नो विचार र आचरण बीचको तालमेल गुमाउँछ, तब उसको नैतिक पतन सुरु हुन्छ।
यसले समाजमा अराजकता फैलाउनुका साथै राष्ट्रहरू बीच द्वन्द्व र युद्धको स्थिति सिर्जना गर्दछ। फलतः जनतामा आफ्ना नेता, शासक र प्रणालीप्रति पूर्ण रूपमा विश्वासको संकट पैदा भएको छ।
अन्ततः, आचार र विचारको बीचमा जति कम दूरी हुन्छ, मानिस र समाज त्यति नै महान बन्दछ। हामीले जतिसुकै ठूला दार्शनिक कुरा गरे पनि यदि त्यसलाई अनुसरण गर्न सकिँदैन भने ती व्यर्थ हुन्छन्। संसार बदल्नु अघि हामीले आफ्नै आचरण बदल्नु आवश्यक छ।
आजको आवश्यकता धेरै विचारहरू थुपार्नु भन्दा पनि थोरै भए पनि राम्रा विचारहरूलाई जीवनमा उतार्नु हो। शान्ति, सामञ्जस्यता र मिलिजुली बस्ने मानवीय आचरणको विकास नै वर्तमान विश्वका समस्याहरूको समाधान हो।
जबसम्म सत्तामा बस्नेहरूले घमण्ड त्याग्दैनन् र शक्तिशालीले निमुखालाई सम्मान गर्दैनन्, तबसम्म यो संसारबाट हिंसा र त्रास हट्न सक्दैन। त्यसैले, विचारको खेती मात्र होइन, आचरण र अनुसरणको अभ्यासमा जोड दिनु नै आजको युगको वास्तविक माग हो।















Facebook Comment