उनी : एक मौनी मग्नता

हृषीकेश
२ जेठ २०८३ ७:३९

उनी के छन् के छन्
भित्र आफैँमा रहस्य भएका छन्

घनघोर मौनतामा छन्
छन् उनका उकुसमुकुस आनन्द प्रसारित छन्
धिमा श्वासमा
एक अव्याख्येय छन्, मन्द मन्द छन्
धिमा धिमा नै सुगन्ध बडा उठ्तछन्
मदालसी त्यसमा मग्नमस्त मस्ती खुब छन्
आनन्दकन्द
मृदुभाषी, अल्पभाषी अवस्थामा
उनी अक्सर बख्तरबन्द
हाल उनका बडा शान्त
चाल उनका मन्द नै भएका छन्
मन्द मग्न अस्तित्वमा एकबद्ध मस्तमग्न
उनी आफैँमा लट्ठ भएका छन्

धिमा पनि कुनै हर्कत भइहाल्छन् त बिथोल्छन् तिनलाई
विराट ती अति सघन मनतलाउको स्थिरता भव्य छन्
गम्भीर बडा छन् अद्भुत सौम्य
रहस्यमय
हेरिरहन्छन् मौनलाई एकटक
उनी पनि मौन नै भएका छन्
उनी मौनतामा शान्ति भएका छन्
शान्तिमा मौनताको मस्ति भएका छन्
उनी कसैको पनि धारणाबाट छुट्दै गएका छन्
कसैको पनि परिभाषामा उनी नअट्ने हुँदै गएका छन्

उनका मनतलाउको सतहबाट नजर भएर उठ्तछन् उनकै अन्तश्चक्षु
पर निकै पर
भीषण बरसातले बनाएको छ माहौल –
तलाउ पारी घनघोर जङ्गल बिच पर
पर खुला क्षितिज केही पर
मधुरो क्षितिजको आनन्दी दृश्यमा
प्रेमानुभूतिले दिएको केही थोरै आनन्दी बेचैनी…
मुटुका हलचल अनुहारमा गाम्भीर्यताको सौम्य तुफान,
प्रेमानुभूतिले नै दिएको केही थोरै आनन्दी बेचैनीले उनी हेर्दछन्, टोलाउँदछन्…
एकटक!

उनी कसैको पनि घेराबाट टुट्तै गएका छन्
उनी कसैको पनि सिमाबाट स्वतन्त्र हुँदै गएका छन्
उनी चरम सन्नाटामा घोरिँदै गएका छन्

उनी के हुन् को हुन् नसोध्नु
उनले आफ्नै त प्रश्न खुद छाडेका छन्…

उनी : एक मौनी मग्नता
उनी : एक धार्मिक यात्री

[email protected]


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *