छानबिन समिति बनेपछि सुधन गुरुङले भने- ‘म ढुक्क छु, मेरो कुनै गल्ती छैन’
काठमाडौं। तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूविरुद्ध छानबिन समिति गठन भएको विषयमा प्रतिक्रिया दिँदै सरकारले निष्पक्ष रूपमा सत्यतथ्य बाहिर ल्याउनेमा आफू पूर्ण रूपमा ढुक्क रहेको बताएका छन्।
यदि आफूबाट कुनै गल्ती भएको प्रमाणित भएमा वर्तमान सरकारले कुनै पनि हालतमा नलुकाउने र कारबाही गर्ने स्पष्ट पार्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे।
आफ्नो दलले गलत गर्ने कसैलाई पनि प्रश्रय नदिने कुरामा जोड दिँदै गुरुङले आफ्नै श्रम मन्त्रीलाई समेत सरकारले नछाडेको स्मरण गरे। उनले अगाडि थपे, “पहिलेका राजनीतिक दलहरू जस्तो यताउति म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने प्रवृत्ति हाम्रोमा हुँदैन।”
सांसद गुरुङले छानबिन समिति गठन हुनुअगावै आफ्ना दलका प्रमुख नेताहरूले आफूलाई कुनै गलत काममा संलग्नता रहे-नरहेको बारे सोधपुछ गरेको समेत खुलासा गरे।
नेताहरूले यदि गलत काम भएको पाइएमा कारबाही भोग्न तयार हुनुपर्ने भनी पहिले नै सचेत गराइसकेको उल्लेख गर्दै उनले आफ्नो तर्फबाट कुनै गल्ती नभएकाले आफू सजिलै छानबिनको सामना गर्न तयार रहेको स्पष्ट पारे।







डिसी नेपाल







Facebook Comment