फेसन र रंगमञ्चपछि हिमानीको नयाँ पाइला: ‘युग : एक प्रेम कथा’ मा मुख्य भूमिका
काठमाडौं। नेपाली फेसन कोरियोग्राफी र मोडलिङ क्षेत्रमा स्थापित नाम हिमानी सुब्बाले नेपाली रजतपटमा औपचारिक पर्दापण गर्ने भएकी छन्।
लामो समयदेखि सौन्दर्य प्रतियोगिता र फेसन शोहरूका पर्दा पछाडि बसेर कौशल देखाइरहेकी सुब्बा अब आगामी नेपाली कथानक चलचित्र ‘युग : एक प्रेम कथा’ मार्फत मुख्य भूमिकामा दर्शकमाझ आउन लागेकी हुन्। चलचित्र निर्माण टोलीसँग हालसालै अनुबन्धन (कागजी सम्झौता) भएपछि उनले आफ्नो यो नयाँ यात्राबारे औपचारिक जानकारी दिएकी हुन्।
हिमानीका लागि अभिनय क्षेत्र विल्कुलै नयाँ भने होइन। ठुलो पर्दामा यो पहिलो अनुभव भए पनि उनले यसअघि रङ्गमञ्चमा आफ्नो अभिनयको जादू छरिसकेकी छन्। उनले ‘देउरालीको दुई थुङ्गा फूल’, ‘नदेखिएका आँसुहरू’ र ‘म रोज’ लगायतका थुप्रै चर्चित नाटकहरूमा शीर्ष भूमिका निभाएर दर्शक तथा समीक्षकको मन जितिसकेकी छन्। रङ्गमञ्चको यही ओजिलो अनुभवले उनलाई चलचित्रको मुख्य भूमिकालाई न्याय गर्न थप सहज हुने विश्वास गरिएको छ।
नेपाली फेसन जगतमा महिला फेसन कोरियोग्राफरहरूको नेतृत्व पङ्तिमा अग्रणी स्थानमा रहेकी हिमानीले अहिलेसम्म पाँच सयभन्दा बढी फेसन कोरियोग्राफी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका इभेन्टहरू सफलतापूर्वक सम्पन्न गरिसकेकी छन्।
फेसन क्षेत्रमा पुर्याएको यही अतुलनीय योगदानका कारण उनी ‘वेस्ट फेसन कोरियोग्राफर अवार्ड’ बाट समेत सम्मानित भइसकेकी व्यक्तित्व हुन्। फेसन कर्म र रङ्गमञ्च दुवै विधामा उत्तिकै सक्रिय हिमानीले चलचित्र क्षेत्रमा चालेको यो कदमले उनको करियरमा मात्र नभई नेपाली रजतपटमा समेत एउटा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘युग : एक प्रेम कथा’ मा हिमानीका साथै अन्य थुप्रै प्रतिष्ठित कलाकारहरू र अनुभवी प्राविधिक टोलीको आबद्धता रहनेछ।
लभस्टोरी जनरामा बन्ने यस चलचित्रका अन्य कलाकार, निर्देशक र छायांकन तालिका सम्बन्धी विस्तृत विवरणहरू निकट भविष्यमा नै विशेष कार्यक्रमसहित सार्वजनिक गरिने निर्माण स्रोतले जनाएको छ।







डिसी नेपाल







Facebook Comment