जबज नेपाली समाजको यथार्थमा आधारित मौलिक विचार हो, यसले एमालेलाई भरोसायोग्य शक्ति बनायो: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) नेपाली समाजको यथार्थ धरातलमा आधारित एक मौलिक राजनीतिक विचार भएको बताएकी छन्। आइतबार काठमाडौंको बल्खुस्थित मदननगरमा आयोजित ३३औं मदन-आश्रित स्मृति सभालाई विशेष सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।
स्मृति सभामा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्रै नपुर्याएर वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा समेत पुर्याएको उल्लेख गरिन्।
“मदन भण्डारी र जीवराज आश्रितले राजनीति भनेको जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो र यो सधैं जनताको विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई देशमा अझ गहिरो गरी स्थापित गराउनुभयो,” उनले भनिन्।
नेकपा (एमाले) ले आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको ‘जबज’ नेपाली मौलिकतामा आधारित रहेको चर्चा गर्दै उहाँले यस विचारलाई नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको स्पष्ट पारिन्।
जबजले देशको लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई सही मार्गदर्शन गरेको उनको भनाइ थियो। पूर्वराष्ट्रपति भण्डारीले यही विचारको जगमा उभिएर नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) आज आम नेपाली जनताको भरोसायोग्य कसिलो राजनीतिक शक्तिका रूपमा स्थापित हुन सफल भएको दाबी समेत गरिन्।







डिसी नेपाल







Facebook Comment