पुष्प राज पाण्डेयकृत कथासंग्रह किनारको गृहविमोचन

डिसी नेपाल
३ जेठ २०८३ १५:५९

धनगढी । साहित्यकार पुष्प राज पाण्डेयको कथासंग्रह किनारको धनगढीमा एक समारोहबीच गृहविमोचन गरिएको छ।

सुदुर पश्चिमाञ्चल साहित्य समाजको आयोजना एवं ऐश्वर्य विद्या निकेतन र ऐश्वर्य बहुमुखी क्याम्पसको सहकार्यमा शनिबार सम्पन्न कार्यक्रमबीच उक्त कृतिको गृहविमोचन गरिएको हो।

मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी, धनगढी उप-महानगरपालिका पूर्वनगर प्रमुख नृप वड, ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरेश पन्त, कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमूख लोक बहादुर बिष्ट, दुर्गाक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमूख नरेन्द्र बहादुर ऐर, ऐश्वर्य विद्या निकेतनका प्राचार्य सञ्जय पन्त, ऐश्वर्य बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमूख एवं दशरथ चन्द मेडिकल विश्वविद्यालयका सिनेट सदस्य धर्मदेव भट्ट, कैलाली जनपुस्तकालयका अध्यक्ष शिव राज ओझा, प्राज्ञ वाशुदेव पाण्डेय, प्राज्ञ एवं लोकगायक यज्ञराज उपाध्याय र कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक गणेश राज जोशीले कृति संयुक्त रुपमा विमोचन गरेका थिए।

कथासंग्रहमाथि निवन्धकार गणेश राज जोशी, कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक एवं विश्लेषक सिताराम भट्ट र साहित्यकार एवं समीक्षक नरेन्द्र भट्टले प्रकाश पारेका थिए। समीक्षक जोशीले पुस्तकमा संग्रहित सत्रवटै कथा उत्कृष्ट रहेको बताए।

समीक्षक सिताराम भट्टले केही सामान्य कमजोरी भए पनि पुस्तक नेपाली साहित्य क्षेत्रको एक अब्बल कृतिको रुपमा आएको बताए।

त्यसरी गरी समीक्षक नरेन्द्र भट्टले कथा मार्मिक हुनुका साथै किनारीकृत नारीका आवाजलाई उठान गरको बताए। उनले शैली र शब्द चयनमा लेखकको प्रतिभा झल्केको टिप्पणी गरेका थिए।

लेखक पाण्डेयले पनि आफ्ना अनुभुति साटेका थिए। उनले अधिकांश कथा वास्तविक घटनामा आधारित रहेको बताए। उक्त कार्यक्रमको सञ्चालन प्रेम विवश चन्दले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *