डिजिटल स्पेसमा महिला हिंसा रोक्न समाज नै जिम्मेवार बन्नुपर्छ : जेनजी अभियन्ता

डिसी नेपाल
३ जेठ २०८३ १८:३४

काठमाडौं। डिजिटल स्पेसमा बढ्दो महिला हिंसा र त्यसप्रति राज्य तथा समाजको दायित्वबारे आयोजित कार्यक्रममा वक्ताहरूले सामाजिक चेतना र सामुदायिक जिम्मेवारी कमजोर बन्दै गएको बताएका छन्।

कार्यक्रममा बोल्दै जेनजी अभियन्ता माजिद अन्सारीले समाजमा हिंसामुखी सोचलाई निरन्तर प्रोत्साहन गरिएको टिप्पणी गरे। उनले विचार केन्द्रित परिवर्तनभन्दा व्यक्ति केन्द्रित हिंसात्मक प्रवृत्तिले समाजलाई नकारात्मक दिशातर्फ धकेलेको बताए।

उनले भने, ‘हामीले समाजलाई नै हिसांमा आधारित परिवर्तनलाई जहिलेपनि प्रोत्साहन गरिरह्यौं। त्यो हिंसा पनि विचार केन्द्रित भन्दा पनि व्यक्ति केन्द्रित हिंसामा आधारित परिवर्तन गर्यौं। चाहे हिजोको कुरा होस् चाहे आजको। एउटा स्टाटसको भरमा संसद विघटन हुन्छ भने त्यो समाजको चेतना कुन स्तरमा हामीले पुर्याएका छौं भन्ने कुरा आफैंभित्र पहिला रहेर हेर्नुपर्ने हुन्छ।’

उनले सामाजिक सञ्जाल र डिजिटल माध्यममा देखिने प्रतिक्रियाले समाजको चेतनास्तर झल्काउने उल्लेख गर्दै एउटा स्टाटसकै आधारमा संसद विघटनजस्तो बहस उठ्नुले समाजको सोचमाथि पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना भएको बताए।

त्यसैगरी नेकपा (एमाले) समर्थक जेनजी अभियन्ता अमिशा पराजुलीले महिलामाथि हुने हिंसा रोक्न राज्यभन्दा पहिले समाज जिम्मेवार बन्नुपर्ने धारणा राखिन्।

उनले हरेक दिन महिलाहरू विभिन्न प्रकारका हिंसामा परिरहेको उल्लेख गर्दै वरपरका मानिसले दायित्व निर्वाह नगर्दा पीडित थप असुरक्षित बन्ने बताइन्।

उनले भनिन्, ‘हरेक दिन महिलाहरु हरेक हिंसामा परिरहेका छन्। हाम्रो वरपरको मान्छे समेत दायित्व निर्वाह गर्दैन। राज्य दायित्व भन्दा पहिला सामाजिक दायित्व बढी भए यो हिंसा हुँदैन थियो होला। समाजमा बसेर त्यहीँ ठाउँमा हुर्केको वरपरको घरकोले देख्ने म गलत भएको देख्ने तर हिंसामा पर्यो भने बचाउनको लागि त्यो समाज पनि त उभिनुपर्छ।’

समाजका सदस्यहरूले गलत गतिविधि देख्दा मौन बस्ने प्रवृत्ति अन्त्य हुनुपर्ने र हिंसामा परेकालाई बचाउन समुदाय नै अग्रसर हुनुपर्ने उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *