झापामा बैंकर खड्का मृत फेला: घटनाअघिको फेसबुक पोस्टलाई लिएर प्रहरीद्वारा सघन अनुसन्धान सुरु

डिसी नेपाल
५ जेठ २०८३ १०:०४

दमक, झापा । झापाको दमक नगरपालिका वडा नं. ८ लक्ष्मीमार्गका ४२ वर्षीय बैंकर पिताम्बर खड्का आफ्नै घरमा मृत फेला परेका छन्। ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत खड्का सोमबार साँझ मृत फेला परेका हुन्।

यो घटनालाई बैंकिङ क्षेत्र र स्थानीय समुदायमा निकै चासोका साथ हेरिएको छ। घटना हुनुभन्दा ठीक अगाडि खड्काले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा चार जना व्यक्तिको सामूहिक तस्बिर सार्वजनिक गरेका थिए।

उक्त पोस्टमा उनले दिपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको फोटो पोस्ट गर्दै उनीहरूकै कारण आफू यो आत्मघाती कदम चाल्न बाध्य भएको गम्भीर आशय व्यक्त गरेका थिए।

इलाका प्रहरी कार्यालय दमकका अनुसार सोमबार साँझ करिब ५ बजे मृतकका बुवा महेश खड्काले छोरालाई अचेत अवस्थामा देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएलगत्तै प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर आवश्यक मुचुल्का तयार पारेको छ।

दमक–८ का वडा अध्यक्ष धर्मप्रसाद दाहालले शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको जानकारी दिएका छन्। प्रहरीले खड्काको फेसबुक पोस्टलाई मुख्य प्रमाणका रूपमा लिँदै घटनाको भित्री कारण र दुरुत्साहनको पाटोबारे गहन अनुसन्धान अघि बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *