आस्था र प्रकृतिको संगम गोसाइँकुण्डमा विशेष मेला सुरु, पाँच हजार यात्रु आउने अनुमान

डिसी नेपाल
७ जेठ २०८३ ६:५६

रसुवा। हिमालको काखमा अवस्थित पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा गंगादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा भगवान् शिवको दर्शन तथा पवित्र कुण्डमा स्नान गर्न देश-विदेशबाट भक्तजनहरू पुग्न थालेका छन्।

जेठ ३ गतेदेखि सुरु भएको यो विशेष मेला आगामी जेठ १२ गतेसम्म सञ्चालन हुनेछ। चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष मेलाभर करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ।

पौराणिक शास्त्रहरूमा वर्णन भएअनुसार देवता र दानवबीच भएको समुद्र मन्थनबाट निस्किएको घातक कालकूट विषले सम्पूर्ण सृष्टि विनाश हुन लाग्दा भगवान् शिवले उक्त विष आफ्नो कण्ठमा धारण गरेका थिए।

विषको अत्यधिक ताप सहन नसकेपछि शीतल स्थानको खोजी गर्दै हिमालय क्षेत्रमा आएका शिवले त्रिशूलले हिमालको पहरामा प्रहार गर्दा निस्किएको पवित्र जलबाट दिव्य गोसाइँकुण्ड बनेको जनविश्वास रहिआएको छ।

धार्मिक मान्यताअनुसार गंगादशहरामा यहाँ स्नान गर्दा दश प्रकारका पाप नाश हुने र जीवनमा एकपटक गोसाइँकुण्ड दर्शन गरेमा मोक्ष प्राप्त हुन्छ। समुद्र सतहदेखि करिब १४ हजार १०० फिटको कठिन उचाइमा अवस्थित यो तीर्थ पुग्न काठमाडौंको बालाजु बसपार्क हुँदै शिवपुरी, छहरे, कालिकास्थान पार गरी धुञ्चे पुगेपछि पैदल यात्रा सुरु हुन्छ।

धुञ्चेबाट शिवमन्दिर, चन्दनबारी, लौरीविनायक र गणेश गौंडा हुँदै ककरो भिर पार गरेपछि पवित्र कुण्ड पुग्न सकिन्छ। उकालो चढ्दा सास फेर्न गाह्रो भए पनि कुण्डमा स्नान गरेपछि सम्पूर्ण थकान हराएर नयाँ उमंग प्राप्त हुने यात्रुहरूको अनुभव छ।

बढ्दो यात्रु चापलाई मध्यनजर गर्दै स्थानीय होटल व्यवसायीहरूले आवश्यक खाद्यान्न ढुवानी गरी खान–बस्नको उचित व्यवस्थापन गरिसकेका छन्। जेठ ९ देखि १२ गतेसम्म कुण्ड क्षेत्रमा विशेष पूजाका लागि पुजारीको व्यवस्था गरिने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिएका छन्।

यात्राका क्रममा कुनै पनि समस्या परेमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले उद्धार सेवा निरन्तर सञ्चालन गर्ने जिल्ला प्रहरी प्रमुख अशोक थापाले बताए।

लौरीविनायकभन्दा माथि उचाइका कारण लेक लाग्ने सम्भावना रहने भएकाले धुञ्चेमा एक रात बस्दै शरीरलाई वातावरणसँग मिलाउन, साथमा अदुवा, कागती, लसुन, बिरेनुन बोक्न र हतार नगरी बिस्तारै उकालो चढ्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्। पैदल यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि काठमाडौँ विमानस्थलबाट हेलिकोप्टर सेवा समेत उपलब्ध छ।

धार्मिक यात्राका साथै प्रकृति संरक्षणलाई पनि उत्तिकै जोड दिइएको छ। लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले हिमालयको संरक्षण नै भगवान् शिवप्रतिको सच्चा श्रद्धा भएको उल्लेख गर्दै वन्यजन्तुलाई नतर्साउन, वनस्पति नकाट्न र फोहर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न अनुरोध गरेका छन्।

पुरोहित उपेन्द्र मिश्रका अनुसार कठिन हिमाली यात्रा, शुद्ध हिमजल, मन्त्र उच्चारणको गुञ्जन र गहिरो श्रद्धाले भरिएको वातावरणले गोसाइँकुण्डलाई आत्मशुद्धि र आध्यात्मिक जागरणको अद्वितीय थलो बनाएको छ, जसका कारण हाल यो क्षेत्र पूर्ण रूपमा भक्तिभाव र धार्मिक उत्साहले गुञ्जायमान बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *