पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी
रामेछाप। प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले समाजको आवाज बोल्नुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघको २१ औँ साधारण सभालाई शनिबार मन्थलीमा सम्बोधन गर्दै बुढाथोकीले पत्रकारले जनता र जनप्रतिनिधिलाई पनि बाटो देखाउनुपर्ने बताए। नयाँ सरकार आएपछि भएका निर्णयबाट पत्रकारलाई परेका असजिलोको बारेमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले यस विषयमा सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराउने बताए।
कार्यक्रमलाई जनमुखी र व्यवसायिक बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने उनले बताए। उनले जनप्रतिनिधिको निगरानी गर्न पनि पत्रकारलाई आग्रह गरे। ‘पत्रकारबाट समाजले धेरै अपेक्षा गरेको हुन्छ, जनप्रतिनिधिले पनि धेरै अपेक्षा गरेका हुन्छन्, पत्रकारिताले ज्योति देखाउने काम गर्दछ’, उनले भने।
जनप्रतिनिधिलाई जनताप्रति जिम्मेवार बनाउने पत्रकारले भूमिका खेल्न सक्नुपर्नेमा उनले जोड दिए। व्यावसायिक र पेसागत पत्रकारिताको विकासको लागि आफू र सरकारको तर्फबाट आवश्यक सहयोग हुने उनले स्पष्ट पारे।
उनले आफूले जनताका आवाज सशक्त रूपमा उठाउने बताउँदै यसको लागि सहयोग गर्न पत्रकारहरूलाई आग्रह गरे। ‘मेरा भूमिकाहरूलाई मैले अझै निखार्नुपर्छ, जनताको आवाज उठाएको छु, उठाउने छु, यहाँहरूबाट सुझाव पाउँ’, उनले भने।
उनले धेरै कुरा गर्नुभन्दा पनि सुशासन र समृद्धिका लागि साना साना काम गर्न आवश्यक रहेको बताए। सो काम सबै मिलेर गर्नुपर्नेमा उनले जोड दिए। ‘विकासको गतिलाई साँच्चिकै अघि बढाउनु पर्ने छ भनेर हामी लागि रहेका छौँ’, उनले भने।
जनताले परिवर्तनको अनुभूति चाँडै व्यवहारमा पाउन् भनेर आफूहरू लागेको बताउँदै उनले यस बाहेक अरू कुनै स्वार्थ नरहेको नराखेको स्पष्ट पारे। सरकारको बजेट र कार्यक्रम सोही अनुसार आउने बताउँदै उनले यसले आर्थिक समृद्धि र रोजगारी सृजनामा सहयोग गर्ने धारणा राखे।







डिसी नेपाल







Facebook Comment