त्रिवेणी राईको फिल्म ‘सेप अफ मोमो’ जेठ १५ देखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदै
काठमाडौं। सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राईको डेब्यू फिचर फिल्म ‘सेप अफ मोमो’ यही मे २९ अर्थात् जेठ १५ गते शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ।
दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता तथा निर्माता राना दगुबत्तीको कम्पनी ‘स्प्रिट मिडिया’ले यस फिल्मको प्रदर्शनमा सहयोग गरिरहेको छ।
भारतीय सिनेमा जगत्का प्रतिष्ठित फिल्मकर्मीहरू जोया अख्तर, रिमा काग्ती, र पायल कपाडीया यस फिल्ममा कार्यकारी निर्माताको रूपमा आबद्ध छन्।
डल्ली खोरसानी प्रोडक्सनको निर्माण तथा कथकला फिल्म्सको सह–निर्माणमा बनेको यस फिल्मले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत र पहिचानको कथा प्रस्तुत गर्छ। फिल्मले ‘घर’ भन्ने भावनात्मक अवधारणालाई समेत गहिराइमा नियाल्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
फिल्ममा स्वर्गीय भानु माया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको मुख्य अभिनय रहेको छ। निर्देशनसँगै त्रिवेणी राईले किस्ले राईसँग मिलेर यसको पटकथा लेखेकी हुन्। फिल्मको छायांकन अर्चना घाङ्ग्रेकरले गरेकी छन् भने सम्पादन अनिल आलायम र किस्लेले गरेका छन्। त्यस्तै, ध्वनि डिजाइन अंकिता पुर्कायस्थाको रहेको छ।
निर्देशक राईका अनुसार ‘सेप अफ मोमो’ उनको व्यक्तिगत अनुभव र वरपरका महिलाहरूको जीवनबाट प्रेरित भएर बनाइएको हो। “मेरो पहिलो फिल्म आफूले नजिकबाट देखेको संसारबाट आउनुपर्छ भन्ने लाग्थ्यो,” उनले भनिन्। स्वतन्त्र फिल्महरूलाई हलसम्म ल्याउन चुनौतीपूर्ण हुने भए पनि फिल्म भारत र नेपालमा एकसाथ प्रदर्शन हुन लाग्नु सम्पूर्ण टोलीका लागि महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।
यो फिल्म यसअघि नै ‘बुसान इन्टरनेशनल फिल्म फेस्टिभल’ र ‘सन सेबेस्टियन इन्टरनेसनल फिल्म फेस्टिभल’लगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भई पुरस्कार र प्रशंसा समेत बटुल्न सफल भइसकेको छ।
फिल्मबारे के भन्छन् दिग्गज फिल्मकर्मी?
राना दगुबत्ती (निर्माता): उनले फिल्मलाई “शान्त तर गहिरो प्रभाव छोड्ने कथा” को संज्ञा दिएका छन्। उनको ‘स्पिरिट मिडिया’ले भावनात्मक इमान्दारितासहित आफ्नै परिवेशमा गहिरो जरा गाडेका कथाहरूलाई सधैं प्राथमिकता दिने उनले बताए।
जोया अख्तर (कार्यकारी निर्माता): उनले फिल्मले सिक्किमेली महिलाहरूको जीवनलाई अत्यन्त आत्मीय र प्रामाणिक ढंगले प्रस्तुत गरेको उल्लेख गरेकी छन्।
रिमा काग्ती (कार्यकारी निर्माता): नयाँ क्षेत्र र नयाँ पुस्ताका फिल्मकर्मीहरूबाट भारतीय स्वतन्त्र फिल्ममा रोचक कामहरू भइरहेको भन्दै ‘सेप अफ मोमो’ त्यसै यात्राको एउटा बलियो हिस्सा बनेको उनको प्रतिक्रिया छ।
पायल कपाडिया (कार्यकारी निर्माता): उनले फिल्मलाई “घरको खोजीमा रहेकी युवतीको भावनात्मक यात्रामाथिको संवेदनशील कथा” भनेकी छन्। फिल्म समकालीन भए पनि भावनात्मक रूपमा निकै गहिरो र प्रभावशाली बनेको उनको ठहर छ।







डिसी नेपाल







Facebook Comment