आशीर्वाद र अश्विनी अभिनीत साङ्गीतिक प्रस्तुति ‘नौ डाँडा काटेर’ सार्वजनिक

डिसी नेपाल
१४ जेठ २०८३ ११:५६

काठमाडौं। म्युजिकल सर्ट फिल्म ‘तिमी-एक रहस्य’मा समावेश पहिलो गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ। आर.बी. पुनको अवधारणामा तयार भएको यस गीतमा लोकप्रिय गायक प्रताप दासको स्वर सुन्न सकिन्छ।

गीतका मर्मस्पर्शी शब्दहरू प्रताप शाहीले कोरेका हुन् भने सङ्गीतकार सुवास पुन मगर हुन्। गीतको भिडियोमा सामाजिक र पारिवारिक कथालाई निकै मार्मिक र कलात्मक रूपमा प्रस्तुत गरिएको छ। विशेष गरी सामाजिक सञ्जाल (फेसबुक) बाट सुरु हुने प्रेम, पारिवारिक हैसियत र वर्गमा हुने अन्तर तथा सहर र गाउँको परिवेशलाई अर्थपूर्ण संवादसहित भिडियोमा जीवन्त रूपमा उतारिएको छ।

उत्तम हुमागाईँको छायाङ्कन रहेको यस भिडियोलाई हरि हुमागाईँले निर्देशन तथा सम्पादन गरेका हुन्। भिडियोमा आशीर्वाद क्षेत्री, अश्विनी शाही, राजाराम पौडेल, विशाल पहाडी, सङ्गी अधिकारी पोखरेल, सृष्टि घिमिरे र चेतना काफ्ले जस्ता अनुभवी तथा नवोदित कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।

नर्वेमा बसोबास गर्दै आएका नेपाली युवाहरूको संस्था ‘धड्कन नेपाल ग्रुप’ ले गीतको निर्माण गरेको हो। केवल मनोरञ्जनमा मात्र सीमित नरही व्यावसायिक कामसँगै सामाजिक सेवालाई पनि सँगै अगाडि बढाउने उद्देश्यले निर्माण टोलीले गीत रिलिज गर्नु पूर्व एउटा उदाहरणीय कार्य गरेको छ।

गीत सार्वजनिक गर्नुअघि निर्माण टोली भक्तपुरस्थित ‘सहारा केयर सेन्टर’ पुगेर त्यहाँ आश्रित वृद्ध वृद्धाहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो। उक्त सहयोग हस्तान्तरण कार्यक्रममा भिडियोका निर्देशक हरि हुमागाईँ तथा कलाकारहरू आशीर्वाद क्षेत्री र चेतना काफ्ले लगायतको उपस्थिति रहेको थियो।

धड्कन नेपाल ग्रुपका संस्थापकहरू सङ्गीतकार मगर र गीतकार शाही हुन्। लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय रहेका सङ्गीतकार मगर हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाका अध्यक्षसमेत हुन्।

यस प्रोजेक्टका व्यवस्थापक दिपेन गौतम हुन् भने कार्यकारी निर्माता भगवान भुजेल हुन्। प्रवीण मानन्धरले रङ्ग संयोजन गरेका छन्।

धड्कन नेपाल ग्रुपको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस भिडियोले कला र सामाजिक कार्यको सुन्दर संयोजन प्रस्तुत गरेको छ। उत्कृष्ट निर्माण र अर्थपूर्ण कथावस्तु बोकेको यस साङ्गीतिक कोसेलीलाई दर्शक र श्रोताले अत्यधिक रुचाउने अपेक्षा निर्माण पक्षले लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *