१७ कूटनीतिक नियोगका लागि खुला प्रतिस्पर्धाबाट राजदूत माग

डिसी नेपाल
१४ जेठ २०८३ २०:०२

काठमाडौं। सरकारले विभिन्न देशका लागि राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन माग गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार कार्यविधि बनाएर योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन–२०६४ को दफा ४५ तथा राजदूत नियुक्ति निर्देशिका–२०७५ (२०७९ मा संशोधित) अनुसार आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ।

हाल नेपालका १७ वटा कूटनीतिक नियोग प्रमुखविहीन छन्। खुला प्रतिस्पर्धाबाट भारत, चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अष्ट्रिया, बहराइन, बङ्गलादेश, मलेसिया, ओमान र साउदी अरेबियालगायतका देशमा राजदूत नियुक्त गरिनेछ।

कार्यविधि अनुसार राजदूत पद राजपत्राङ्कित विशिष्ट श्रेणीसरह मानिनेछ र उनीहरूको कार्यकाल चार वर्षको हुनेछ। सफल उम्मेदवारलाई कुन देशमा पठाइने भन्ने विषय भने कार्यशर्त (टीओआर) मा स्पष्ट गरिएको छैन।

राजदूतका लागि आवेदन दिन अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै, आवेदक नेपाली नागरिक हुनुपर्ने, कम्तीमा ३५ वर्ष उमेर पुगेको हुनुपर्ने तथा कुनै विदेशी मुलुकको स्थायी वा अस्थायी बसोबास सुविधा नलिएको हुनुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार भ्रष्टाचार वा नैतिक पतन देखिने अपराधमा दोषी ठहर भएको व्यक्ति राजदूतका लागि अयोग्य हुनेछन्। नेपाल सरकारको सेवाबाट बर्खास्त नभएको, वैदेशिक सहायता प्राप्त गैरसरकारी संस्थामा कार्यरत नरहेको, प्रस्तावित देशसँग स्वार्थ नबाझिएको तथा उच्च नैतिक चरित्र भएको व्यक्तिले मात्र आवेदन दिन पाउनेछन्।

राजदूतका लागि अङ्ग्रेजी भाषामा राम्रो दक्खल आवश्यक पर्ने र सम्बन्धित मुलुकको भाषा जान्नेलाई थप प्राथमिकता दिइने कार्यविधिमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *