वीरगञ्ज भन्सारबाट निर्यातमा वृद्धि: १० महिनामा ८८ अर्ब बढीका वस्तु निर्यात

डिसी नेपाल
१५ जेठ २०८३ १५:१०

वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज भन्सार कार्यालय हुँदै हुने वस्तु तथा सामानको निर्यातमा उल्लेख्य सुधार आएको छ।

चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा यस नाकाबाट कुल रु ८८ अर्ब २२ करोड बराबरका विभिन्न नेपाली वस्तु तथा सामानहरू वैदेशिक बजारमा निर्यात भएका छन्।

यो सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी हो। गत आर्थिक वर्षको प्रथम १० महिनामा यस नाकाबाट रु ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए।

भटमास र सूर्यमुखी तेलको बजार बलियो

भन्सार कार्यालयको तथ्यांक अनुसार निर्यात भएका वस्तुहरूमध्ये प्रशोधित भटमासको तेलको हिस्सा सबैभन्दा ठुलो रहेको छ। चालु आवको १० महिनामा मात्रै रु ४८ अर्ब ११ करोड बराबरको प्रशोधित भटमासको तेल निर्यात भएको छ।

यसैगरी, रु पाँच अर्ब ३५ करोड मूल्य बराबरको प्रशोधित सूर्यमुखी तेल र रु छ अर्ब ४२ करोड बराबरको विभिन्न फलफूलको रस (जुस) निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।

नेपाली उत्पादनका कपडा र धागोको निर्यात पनि उत्साहजनक देखिएको छ। यस अवधिमा वीरगञ्ज नाका हुँदै कुल रु तीन अर्ब तीन करोड मूल्य बराबरका तयारी कपडाहरू र रु दुई अर्ब २५ करोड बराबरको ‘सिन्थेटिक यार्न’ (धागो) निर्यात भएको छ। वीरगञ्ज नाकाबाट निर्यातमा भएको यो वृद्धिले मुलुकको बाह्य व्यापार र वैदेशिक मुद्रा आर्जनमा सकारात्मक योगदान पुर्‍याएको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *