राष्ट्र निर्माणका लागि महिला नेतृत्व र क्षमता मुख्य आधार: राष्ट्रपति पौडेल
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन्।
‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ आज मनाउन लागिएको आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो धारणा राखेका हुन्।
देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड दिए। उनले नेपाली महिलाको सुरक्षा, सम्मान तथा हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्न यस दिवसले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्। घर, समाज, कार्यस्थल र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवर्द्धन गर्न राज्य तथा नागरिक समाजबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने उनको भनाइ छ।
यस विशेष अवसरमा उनले महिलाको हकअधिकार सुनिश्चित गर्न तथा उनीहरूको उत्थानका लागि विभिन्न क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण महानुभावहरूलाई स्मरण गर्दै धन्यवाद समेत ज्ञापन गरेका छन्।
विगतको इतिहासलाई स्मरण गर्दै राष्ट्रपति पौडेलले वि.सं. २०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ पारित गरेको ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाइँदै आएको प्रस्ट पारे।
महिला अधिकारलाई संवैधानिक र कानुनी सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरूलाई यस दिवसले अझ बढी पहिचान, सम्मान र थप ऊर्जा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन्।
यसैगरी, राष्ट्रपति पौडेलले महिलाको श्रम, सीप, सिर्जनशीलता र क्षमतालाई समग्र विकास प्रक्रियाको मूलप्रवाहमा समाहित गरी उनीहरूलाई आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताए। स्रोत, साधन एवम् अवसरमा समान पहुँच स्थापित गर्न तथा राज्यका हरेक निर्णय प्रकियामा सहभागिता अभिवृद्धि गर्न सरकारका नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको उनले उल्लेख गरे।
आजका नेपाली महिलाहरूले शिक्षा, विज्ञान, प्रविधि, राजनीति, प्रशासन, कला तथा उद्यमशीलता जस्ता विविध क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिसकेको भन्दै उहाँले महिलाहरूको यो प्रगति राष्ट्रकै लागि गौरवको विषय भएको बताएका छन्।







डिसी नेपाल







Facebook Comment