इरानसँगको युद्धविराम र होर्मुज जलडमरूमध्य खोल्ने सम्झौतामा ट्रम्पको अनिर्णय
वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्यलाई पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने सम्भावित सम्झौताबारे सघन छलफल गरेका छन्। यद्यपि, यस विषयमा अमेरिकाले अझै कुनै अन्तिम निर्णय भने गरिसकेको छैन।
ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्प र उनका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूबीच करिब दुई घण्टा लामो विशेष बैठक सम्पन्न भएको थियो। उक्त बैठकपछि पनि सम्झौताका विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्।
राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षा चासोहरू पूर्ण रूपमा सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रम नियन्त्रणमा रहने ग्यारेन्टी भएको अवस्थामा मात्र सम्झौतालाई अगाडि बढाइने अडान राखेको बताइएको छ।
यसअघि, अमेरिका र इरानका प्रतिनिधिहरूबीच एक प्रारम्भिक सहमति बनेको खबरहरू सार्वजनिक भएका थिए। उक्त प्रस्तावित सहमतिअनुसार हाल कायम रहेको युद्धविरामको अवधिलाई थप ६0 दिनसम्म लम्ब्याउने र इरानको आणविक कार्यक्रमको भविष्यलाई लिएर थप वार्ताहरू अघि बढाउने विषय समेटिएका छन्। तर, राष्ट्रपति ट्रम्पले यसका लागि केही कडा सर्तहरू अघि सारेका छन्।
उनका अनुसार इरानले भविष्यमा कहिल्यै पनि आणविक हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्नेछ। साथै, होर्मुज जलडमरूमध्यलाई अन्तर्राष्ट्रिय जहाजहरूको सुरक्षित आवागमनका लागि खुला राखिनुपर्ने र सो समुद्री मार्गमा बिछ्याइएका बारुदी उपकरणहरू (माइन्स) पूर्ण रूपमा हटाइनुपर्ने अमेरिकी सर्त रहेको छ।
उता, इरानका संसद् अध्यक्ष एवं प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले भने अमेरिकाको यो अडानप्रति कूटनीतिक प्रतिक्रिया दिएका छन्। उनले दुई देशबीचको विश्वास केवल ओठे प्रतिबद्धताबाट नभई व्यावहारिक कदमहरूबाट मात्र स्थापित हुने स्पष्ट पारेका छन्। दुवै पक्षले सम्झौताका बुँदाहरूलाई ठोस रूपमा कार्यान्वयन गरेपछि मात्र आगामी दिनमा थप प्रगति सम्भव हुने इरानी पक्षको भनाइ छ।
दुवै देशबीच कूटनीतिक च्यानलबाट वार्ताहरू जारी रहे पनि सम्भावित ऐतिहासिक सम्झौताबारे अन्तिम निर्णय आउन र ठोस सहमति बन्न अझै केही समय लाग्ने देखिएको छ।







डिसी नेपाल







Facebook Comment