चौथो सातामा झन् बढे ‘लालीबजार’ हेर्न दर्शक
काठमाडौं । गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ चौथो सातामा पनि हाउस फुल दर्शकका साथ प्रदर्शन भइरहेको छ । चौथो सातामा प्रवेश गर्दै गर्दा १९२ सो पाएको उक्त फिल्मले शनिवार दर्शकको साथ पाएको छ । ‘लालीबजार’ प्राप्त गरेको शोहरू ९० प्रतिशत भन्दा बढी अकुपेन्सीका साथ प्रदर्शनरत थिए भने अधिकांश हाउस फुल थिए ।
चौथो सातामा पनि हलमा दर्शकको उस्तै चाँप र उत्साह देखेपछि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, कार्यकारी निर्माता प्रदीप भट्टराईले हल भिजिट गरेका थिए । काठमाडौँ उपत्यकामा रहेको विभिन्न हलमा पुगेर उक्त टिमले दर्शक भेट्नुका साथै प्रतिक्रिया पनि लिएको थियो ।
अभिनेता बानियाँले दर्शकबाट फिल्मका बारेमा प्रत्यक्ष सुझाव लिँदा आगामी दिनमा गर्ने कामलाई मदत गर्ने बताए । उनले भने, ‘हामीले गर्ने काम दर्शककै लागि हो, सोही कारण म लगायत टिम प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने गर्छौँ । म आफ्नो फिल्म आएको समयमा प्रतिक्रिया लिन्छु, जसले आगामी काममा मदत पुग्छ । सोही कारण यस पटक पनि नेपालभरका मुख्य सहरमा पुगेर दर्शकसँग भेटघाट गरेको थिएँ, धेरै प्रतिक्रिया सामाजिक सञ्जालमार्फत पनि आउने गरेको छ ।’
फिल्म ‘लालीबजार’ सुरु आती दिनमा कानुनी झन्झटमा पर्नुका साथै विवादित बनाउने प्रयास गरिएता पनि दर्शकले रुचाएका कारण यस वर्ष विसं २०८२ मा हालसम्म प्रदर्शन हुने फिल्ममध्ये सर्वाधिक कमाउने फिल्म बनिसकेको छ । फिल्मले प्राप्त गरिरहेको दर्शकको साथलाई मुल्यांकन गर्ने हो भने आगामी दसैँ अगाडि फिल्म ‘लालीबजार’ ले प्राप्त गरेको व्यावसायिक सफलतालाई जित्न मुस्किल देखिन्छ । फिल्मले झन्डै ८ करोडको हाराहारीमा ग्रस कलेक्सन गरिसकेको छ ।
हजुरबुवादेखि नातीपुस्तासम्म हलमा दर्शकका रूपमा भेटिएका छन् । यम थापाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले फिल्मले १० करोडको आँकडा पार गर्ने विश्वास प्रदर्शकको छ । ‘लालीबजार’ को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । फिल्म हेरेर निस्किने अधिकाँसले आफ्नो आँखा रसाएको र आमाको सङ्घर्षसँग आफू ‘कनेक्ट’ भएको प्रतिक्रिया दिएका छन् ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दै छन् ।
विशाल थिएटरमा काम गरी रहेका कलाकार हुन् भने प्रशंसा जेनजी अभिनायताका रूपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment