बालेन शाहको मौन क्रान्ति: पुराना दलको ‘अन्त्य’ र नयाँ नेपालको जग
सच्चा जननायकको मौन क्रान्ति: कोलाहल चिर्दै देश बदल्ने प्रधानमन्त्री बालेन शाहको अभूतपूर्व शक्तिमनभित्र पूर्णता र स्पष्टता भएको व्यक्ति सधैँ मौन बस्न रुचाउँछ। आत्मविश्वासी र सुरक्षित व्यक्तिले कोलाहलपूर्ण प्रतिस्पर्धाभन्दा मौनतालाई नै आफ्नो हतियार बनाउँछ।
वर्तमान प्रधानमन्त्री बालेन शाह ठिक यही स्वभावका प्रतिमूर्ति हुन्। धेरैलाई लाग्न सक्छ बोल्नु नै शक्ति हो, तर वास्तवमा धेरै बोल्नु शक्तिको अपव्यय मात्र हो। शक्तिको असली सागर त मौनताभित्रै लुकेको हुन्छ, जहाँ अरूका कुरा सुन्ने धैर्यता हुन्छ।
सुन्ने कला आफैँमा एउटा ठुलो ध्यान हो, जसले मानिसभित्र असीमित ऊर्जा र शक्तिको सञ्चय गराउँछ। मानिस जति अन्तर्मुखी हुँदै जान्छ, उति नै बाहिरी संसारको निरर्थक कोलाहल र अल्झनबाट टाढा रहन्छ। धेरै बोल्नेहरू बाहिरी संसारमै अल्मलिइरहँदा मौन रहने व्यक्ति भने भित्रभित्रै शक्तिशाली बन्दै जान्छन्।
फलतः त्यस्ता व्यक्तिले लिने निर्णय नै इतिहासको अकाट्य र महान् निर्णय बन्न पुग्छ। शान्त मन नै शक्तिको सबैभन्दा ठूलो प्रमाण हो र बालेन शाह यसको जीवन्त उदाहरण हुन्।
काठमाडौं महानगरको मेयर पददेखि देशको प्रधानमन्त्री बन्दासम्म बालेन शाहको यही अटल मौनताले समग्र देशवासी मात्र होइन, दक्षिण एसियाकै कयौं कूटनीतिक र विशिष्ट व्यक्तित्वहरूलाई समेत प्रभावित एवं द्रवीभूत बनाएको छ।
शब्दभन्दा पर रहेर अरूको कुरा सुन्ने, आफ्नो ऊर्जा सञ्चित गर्ने र उपयुक्त समयमा मात्रै बोलेर आफ्ना निर्णयहरूलाई अकाट्य साबित गर्ने क्षमता उनमा देखिन्छ। मौन रहने व्यक्ति भित्रबाट कति शक्तिशाली हुन्छ भन्ने कुरा बालेनले आफ्नो व्यवहारबाट प्रमाणित गरिसकेका छन्।
आफूले आफैँलाई सुन्ने र बुझ्ने भएकाले उनी बाहिरका निरर्थक आलोचना र आफ्ना विरुद्ध रचिएका चक्रव्यूहहरूको जवाफ गाली वा प्रतिवादबाट दिँदैनन्; बरु शान्तिको सन्देश छर्दै आफ्नै विशेष कार्यशैलीद्वारा विरोधीहरूलाई बिस्तारै किनार लगाउन सक्षम छन्।
मेयरदेखि प्रधानमन्त्रीसम्मको यात्रा तय गर्दा बालेन शाहले आफ्नो अटल मौनता र इमानदारिताको शक्तिले दशकौँदेखि सत्तामा हालिमुहाली गरिरहेका शीर्षस्थ नेताहरूलाई नबोलीकनै चुनावी मैदानमा ठेगान लगाइदिए।
पचास वर्षभन्दा बढी समयदेखि संसद् र सरकारमा ठूला-ठूला गफ दिएर शासन गरिरहेका पुराना राजनीतिक दलहरूलाई जनताले झन्डै शून्यमा झारिदिए। केवल ६ वर्ष मात्र पुरानो दल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी उनले आमनिर्वाचनको क्रममा देशवासीका सामु केवल २७ मिनेट मात्र सम्बोधन गरेका थिए।
त्यही २७ मिनेटको संक्षिप्त तर मर्मस्पर्शी बोलीले देशका करोडौँ जनतालाई उनको मौनताको शक्ति र गहिराइसँग जोड्यो। परिणामस्वरूप, मुलुकले अकल्पनीय चुनावी नतिजा देख्यो र आम नागरिकको अगाध विश्वासका साथ बालेन शाह देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री बन्न सफल भए।
आज उनी नबोलीकन, बिनाकुनै तामझाम देशको बागडोर सम्हालेर सत्ता सञ्चालन गरिरहेका छन्। यस्तो विलक्षण क्षमता इतिहासमा विरलै मानिसमा मात्र पाइन्छ। केवल ३८ वर्षको तन्नेरी उमेरमै देशको प्रधानमन्त्री बनेर बालेन शाहले नेपाल मात्र होइन, सिङ्गो विश्वलाई नै चकित पारिएका छन्।
प्रधानमन्त्री भएपछि पनि उनको कार्यशैली बदलिएको छैन; उनी अझै पनि नबोलीकन केवल काम मात्र गरिरहेका छन्। उनले चालेका हरेक कदम र योजनाहरूले इतिहासमा नयाँ रेकर्डहरू कायम गरिरहेका छन्।
देश विकास र कार्यसम्पादनको यस्तो तीव्र रफ्तार विगतमा राजा महेन्द्रको पालामा सुनिएको थियो भने अहिले बालेन शाह प्रधानमन्त्री हुँदा आम जनताले प्रत्यक्ष महसुस गर्न पाएका छन्।
यो नै बालेन शाहको मौनताको अभूतपूर्व र ऐतिहासिक शक्ति हो। आज उनको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले गर्ने हरेक निर्णय ऐतिहासिक र दूरगामी हुने गरेका छन् भने एकपछि अर्को गर्दै विकासका कामहरू द्रुत गतिमा अघि बढिरहेका छन्।
उनको कामको रफ्तारबाट आत्तिएका विरोधीहरू सडकदेखि सदनसम्म भयंकर कोलाहल र विरोध गरिरहेका छन्, तर प्रधानमन्त्रीको मौनताको शक्तिले ती सारा विरोधीहरूलाई बिस्तारै शान्त पारिरहेको छ।
उनी बोलीबाट होइन, परिणाममुखी कामबाटै विरोधीहरूलाई उनीहरूको अकर्मण्यताको पाठ सिकाइरेका छन्। पार्टीका नाममा “मै हुँ” भन्ने र सधैं आफैं मात्र प्रधानमन्त्री बन्नुपर्छ भन्ने पुराना तथा केही नयाँ दलका स्वार्थी नेताहरूको मुखमा बालेन शाहले आफ्नो मौन कर्मद्वारा कालो मोसो दलिदिएका छन्।
आजको शासन व्यवस्थामा बालेन शाह दूरदृष्टि भएको हात्तीजस्तै अडिग छन् भने बोली मात्र बेचेर थाकिसकेका अन्य पार्टीका नेताहरू अनावश्यक कुराहरूमा गरिरहेका छन्।
आजको देशको सत्ता र शासन सञ्चालनमा बालेन शाहलाई अर्का होनहार युवा नेता रवि लामिछानेको बलियो साथ रहेको छ। लामिछाने पार्टीको अध्यक्ष भएर पनि पद र प्रधानमन्त्रीको कुर्सीको लोभ नगरी, देश विकासका लागि निःस्वार्थ भावले लागेका छन्।
उनले बालेन शाहमाथि ठूलो विश्वास राख्दै अबको ५ वर्षभित्र देशलाई विकासको बलियो जगमा उभ्याउने र आगामी १० वर्षभित्र नेपाललाई विकसित राष्ट्रको स्तरमा पुर्याउने महाअभियानमा काँधमा काँध मिलाइरहेका छन्।
यसै गरी मन्त्रिमण्डलमा रहेका तमाम युवा, विद्वान् र विज्ञ मन्त्रीहरूले पनि आफ्नो सम्पूर्ण बल र बौद्धिकता लगाएर प्रधानमन्त्रीको कामको रफ्तारलाई पूर्ण रूपमा साथ दिइरहेका छन्।
बालेन शाहको यो मौनता र निष्ठा यसरी नै सधैँ अघि बढिरहोस् र उनको मनमा सधैँ राष्ट्र निर्माणका रचनात्मक तरंगहरू फैलिरहून्। उनले नबोलीकनै देशको उत्तरोत्तर प्रगति गराएर विश्वलाई चकित पारिरहून्, किनकि यसैमा उनको महानता र समग्र देशको उज्ज्वल भविष्य लुकेको छ।
प्रधानमन्त्री बालेन शाह आफ्नो कुनै पनि काम बिनासल्लाह हचुवाको भरमा गर्दैनन्। उनीसँग हरेक विषयका विज्ञ र दक्ष सल्लाहकारहरूको बलियो टोली छ। वर्तमान समयमा देशमा यति धेरै बेथिति छन् कि काम ज्यादै द्रुत गतिमा गर्नुपर्ने बाध्यता छ।
यसरी द्रुत गतिमा चौतर्फी काम गर्दा १०० मा एक-दुईवटा ससाना त्रुटि हुनु स्वाभाविक नै मानिन्छ, किनभने उनी पनि यसै संसारमा जन्मिएको मानव हुन्। तर जे भए पनि, आज उनी शासनमा पूर्ण प्रभावशाली र मौनतामा अत्यन्तै शक्तिशाली छन्।
उनको मौनताको हरेक अभिव्यक्ति अर्थपूर्ण छ। जब मन पूर्ण रूपमा शान्त हुन्छ, तब त्यहाँ प्रकृतिको न्याय बोल्न थाल्छ। मौनता आफैँमा जीवनको यस्तो सुन्दर यात्रा हो जहाँ कुनै अस्वस्थ प्रतिस्पर्धा हुँदैन।
उनको हिँडडुल, निर्णय र कदमहरू अद्वैत छन् र उहाँको मौनता नै आज सिंगो देशको आशाको केन्द्रबिन्दु बनेको छ। मौनता आफैँले बाहिर चिच्याएर केही गर्दैन, तर यसले मानिसभित्र रहेको अज्ञानता र स्वार्थको अन्धकारलाई बिस्तारै हटाएर प्रकाशतर्फ डोर्याउने काम गर्छ।
मौनताको नजरमा सबै नागरिक समान हुन्छन् र बालेन शाहको पनि व्यक्तिगत रूपमा कसैसँग कुनै वैरभाव वा शत्रुता छैन। उनको उद्देश्य कसैसँग दुश्मनी साध्नु होइन, बरु वर्षौँदेखि लुकाइएका सत्य कुराहरूलाई उजागर गरेर जनताको माझमा ल्याउनु र सत्य तथा असत्यको पर्दाफास गर्नु हो, जुन काम उनले इमानदारिताका साथ गरिरहेका छन्।
यसरी पूर्ण इमानदार र आफ्नो कर्तव्यप्रति अहोरात्र लगनशील रहेर काम गर्ने स्वभाव भएका प्रधानमन्त्री बालेन शाहका विरुद्ध आफ्नो कर्तव्य भुलेका केही स्वार्थी नेता तथा कार्यकर्ताहरूले बेमौसमको बाजा बजाएर धज्जी उडाउन खोजिरहेका छन्।
तर यो विरोध खाली विरोधका लागि मात्र गरिएको विरोध हो। यस्तो संकीर्ण राजनीतिबाट न त देशको भलो हुन्छ, न त उनीहरू आफैँले केही गर्न सक्छन् भन्ने कुरा सुनिश्चित छ। आज बालेन सरकारले देश बनाउने दृढ संकल्प र अठोट लिएर काम गरिरहेको अवस्थामा उनको खुट्टा तान्ने वा विरोध गर्ने बेला पटक्कै होइन।
उनको देश विकासको हुटहुटी र सपनालाई साकार पार्न यो पाँच वर्षको कार्यकालका लागि रचनात्मक सहयोग र आवश्यक सुझाव प्रदान गर्नु नै देशप्रेमीको कर्तव्य हो। त्यसैले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनका लागि सम्पूर्ण राजनीतिक दल, नेता, कार्यकर्ता र सांसदहरूलाई सधैँ सरकारको काममा रचनात्मक सहयोग र समर्थन आवश्यक पर्छ।















Facebook Comment